१९ साउन , काठमाडौ । काठमाडौ उपत्यकाबाट हराएका तथा चोरी भएका सवारी साधन खोजतलास गर्ने तथा सवारी साधन चोरी गर्न संलग्न हुने व्यक्तिलाई नियन्त्रणमा लिने असई कृष्ण प्रसाद लुईटेललाई ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले एक कार्यक्रमका वीच पुरस्कृत गरेका छन् ।
असई लुईटललाई एसएसपी भट्टराईले तीनपुस्तेमा जनिने गरी प्रमाणपत्र र एक हजार रूपैयाँ पुरस्कार दिएका हुन्। एसएसपी भट्टराईले राम्रो काम गर्ने प्रहरीलाई ठाउँको ठाउँ पुरस्कृत र नराम्रो गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने नीति अपनाएका छन्।
असई लुईटेल महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाईमा कार्यरत रहेका छन् ।

विभागीय नीति निर्देशन बमोजिम ट्राफिक प्रहरीको कामकारवाहीलाई परिमाणमुखी र व्यवसायिक ढंगबाट उपत्यकाको विभिन्न समयमा भिन्न(भिन्न स्थानबाट हराएका मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सुचना संकलन एंव निगरानीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, त्यस्ता व्यक्तिलाई नियन्त्रणमा ल्याई कानुनी दायरामा ल्याउने तथा हराएका मोटरसाईकल खोजतलास गरी परिमाणमुखी भूमिका खेल्ने तथा आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउनेजस्ता प्रशंसनीय कार्य गरेकाले उनलाई कार्यसम्पादन मूल्यांकनका आधारमा पुरस्कृत गरिएको हो ।







