१८ असार , काठमाडौं । व्यावसायिक रूपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यावसायिक रूपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरूलाई प्रोत्साहन तथा सम्मान गरेको हो । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भैरवी गाउँपालिका–७ को उज्यालो साना किसान सहकारी संस्था २० हजार रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ । यस्तै किसान प्रोत्साहनतर्फ ३१ जना किसान नगद पुरस्कार सहित सम्मानित भएका छन् । सम्मानित हुने किसानहरूमा राना कृषि तथा पशुपक्षी फर्मका रोहितकुमार राना, प्रेमबहादुर खड्का, जनकबहादुर कटुवाल, नवराज जैसी, माधवप्रसाद जैसी, सिता अधिकारी, जयबहादुर थापा, लोकबहादुर बोगटी, पृथ्वीबहादुर बस्नेत, हरिबहादुर बस्नेत, तीर्थराज बस्नेत, टोपबहादुर बोगटी छन् । यस्तै गगनबहादुर बस्नेत, तिलबहादुर बस्नेत, विष्णुबहादुर बस्नेत, गगनबहादुर आले, कृष्णबहादुर आरसी, विनोद रोकाय, रतनबहादुर शाही, सम्झना बुढा, दीपक केसी किसान प्रोत्साहनतर्फ नगदसहित सम्मानित भएका छन् ।
प्रोत्साहनतर्फ भैँसी पालन समेत गरिरहेको दुल्लु नगरपालिका–२ को नरेश्वर उद्यमशील आधारभूत विद्यालय समेत ३० हजार रुपैयाँ सहित सम्मानित भएको छ । त्यसै गरी ठाटीकाँध गाउँपालिका–६ को न्यू देउती कृषि तथा पशुपक्षी फर्म सञ्चालक नेमबहादुर विष्ट, आठबीस नगरपालिका–३ को जैसी कृषि तथा पशुपक्षी फर्म, भैरवी गाउँपालिका–७ को आचार्य कृषि तथा पशुपक्षी पालन फर्म, झरना कृषि तथा पशुपक्षी पालन फर्म समेत प्रोत्साहन कार्यक्रम अन्तर्गत नगदसहित सम्मानित भएका छन् । प्रोत्साहन कार्यक्रमबाटै किसानहरू रमा लामिछाने, नन्दा थापा, झलक प्रसाद पौड्याल, शान्ता शाही र र लछुमन बुढा समेत सम्मानित भएका छन् ।
मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत कर्णबहादुर शाही, टेकबहादुर थापा, पदमबहादुर बूढा, रुद्ध प्रसाद सुवेदी, भवानीप्रसाद भट्टराई, रमादेवी शाही, नैनबहादुर रोकाय, कृष्णलाल जैसी, दीपक बीसी, किशोरकुमार थापा र शेरबहादुर सिजापति नगदसहित पुरस्कृत भएका हुन् । उनीहरूलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।







