Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकाको सवारी व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै : डिआईजी मिरा चौधरी

१ श्रावण , काठमाडौं । पछिल्लो समयमा राजधानीको ट्राफिक व्यवस्थापनमा चुनौती बढेपछि त्यसलाई सहजरुपमा समाधान गर्न सक्ने क्षमता बनाएको उपत्यका ट्राफिक महाशाखाले पछिल्लो अवस्थामा उपत्यकाको ट्राफिक व्यवस्थापन कस्तो हुनुपर्छ भन्ने विषयमा उपत्यका ट्राफिक महाशाखाकि प्रमुख डिआईजी मिरा चौधरीसँग न्युज ट्वान्टिफोर ग्यालेक्सीले गरेको कुराकानी :

तपाईले उपत्यका ट्राफिक प्रहरीको कमान्ड सम्हालेको केहि हप्ता मात्र पुगेको छ । के -के छन त तपाईंको अबको योजना ?

उपत्यका ट्राफिक प्रहरी महाशाखामा हाजिर भएदेखि नै उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त बनाउन विभिन्न योजना निर्माण गरिरहेको छु। सबै प्रहरी अधिकृतको सहयोगमा योजना निर्माण गरेर कार्यान्वयनसमेत गरिसकेका छौं। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयसमेतबाट भएका नीति, निर्देशन र विद्यमान ऐन कानुनको परिधिभित्र रहेर आम नागरिकको चाहना बुझेर हामी अघि बढेका छौं ।

हाम्रो प्रमुख प्राथमिकता ‘स्मार्ट ट्राफिक प्रहरी’ बनाउने, समस्यालाई पहिचान गर्ने र प्राथमिकतामा राख्ने, प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिने, व्यवहारमा विनम्रता र कानुन कार्यान्व्यनमा कडाइ गर्ने, सरोकारवाला निकायसँग उपलब्धिमूलक सहकार्य गर्ने, ट्राफिक अनुशिक्षण र जनचेतनाको विशिष्टीकरण गर्दै लैजाने, ‘ट्राफिक नियमको पालना, आम नागरिकको चाहना’ भन्ने नारालाई विभिन्न नागरिकमैत्री अभियान सञ्चालन गर्दै जाने भन्ने हो। सबैसँग सहकार्य गरेर अघि बढेको कारण हालसम्म कुनै समस्या देखिएको छैन। समस्या आए सबैसँग सल्लाह सुझाव लिएर समाधान गर्नेछौं।

अहिले उपत्यकाको ट्राफिक व्यवस्थापनको अवस्था कस्तो छ ?

काठमाडौै उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल छैन। दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लंघनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउन उपत्यकाको ट्राफिक प्रहरी तत्पर छ। उपत्यका ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाको सवारी दुर्घटना न्यूनीकरण गर्दै लैजाने, सवारी नियन्त्रण तथा व्यवस्थापन उच्च अनुशासित भएर गर्ने समय अनुकूल ट्राफिक व्यवस्थापन सुधार गर्दै लैजाने, ट्राफिक व्यवस्थापनमा जनसहभागिता बढाएर काम गरिरहेका छौँ ।

सडकमा गुड्ने सवारीसाधनको संख्या कति होला ?

सवारीसाधनको सख्या दिनदिनै बढे पनि सडक बढ्न सकेको छैन । नेपालभर ३६ लाखको हाराहारीमा सवारी दर्ता छ । वागमती प्रदेशमा मात्रै दर्ता भएको सवारी साधनमध्ये १७ लाखभन्दा सवारीसाधन सञ्चालन भइरहेका छन्। यीबाहेक अन्य अञ्चल कार्यालयमा दर्ता भएका सवारी पनि राजधानीमा गुड्छन्।

औषतमा हेर्ने हो भने उपत्यकामा सबैभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन्। दैनिक रुपमा सडकको क्षमताभन्दा बढी सवारी साधन सञ्चालन हुने गरेकाले ट्राफिक व्यवस्थापन गर्न केही समस्या देखिन थालेको छ। राजधानीमा दैनिक रुपमा करिब ४५ हजार यात्रु र ५० हजार सवारी साधन भित्रिने र बाहिरिने गर्छन्।

उपत्यकाको ट्राफिक व्यवस्थापनमा कति जनशक्ति परिचालित छन् ?

उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न अहिले १ हजार ७ सय ट्राफिक प्रहरी परिचालित छन्।
यति थोरै जनशक्तिले ट्राफिक व्यवस्थापन गर्न सहज छैन ।

ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेको विद्यमान अवस्थामा यथार्थपरक विश्लेषण गरी सवारी आवागमनको समुचित व्यवस्थापन एवं दुर्घटना न्यूनीकरण गरी निर्वाध रुपमा रुपमा सवारी व्यवस्थापन गर्न विद्यमान अवस्थाको यथार्थपरक बिश्लेषण गरी विशिष्टीकृत जनशक्ति एवम् आधुनिक उपकरणहरूको प्राप्ति र समुचित उपयोग गर्नु अपरिहार्य छ।

यो काम उपत्यका ट्राफिक प्रहरी महाशाखाको एकल प्रयासबाट मात्रै मात्र सम्भव हुन सक्दैन। सरोकारवाला सबै निकायको एकीकृत, समन्वयात्मक एवम् सामूहिक सहकार्यलाई अझै घनीभूत पार्नु आवश्यक छ। उपत्यकाको सवारी व्यवस्थित गर्न थप ६ सय ट्राफिक प्रहरीको आवश्यक छ। उपत्यकामा एक जना ट्राफिक प्रहरीले करिब १५ सय भन्दा बढी सवारी साधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ।

स्मार्ट ट्राफिक प्रहरी बनाउन के गर्नुपर्ला ?

मेरो पहिलो प्राथमिकता उपत्यकाका सबै युनिटमा कार्यरत सबै कार्यालय र ट्राफिक प्रहरीलाई स्मार्ट पुलिस बनाउने हो ।

ट्राफिक प्रहरी अनिवार्य रुपमा स्मार्ट हुनुपर्छ। अहिलेको ट्राफिक प्रहरी धेरै राम्रो,व्यावहारिक र स्मार्ट भइसकेका छन्। तर व्यक्तित्व, आचरण, व्यवहार, ज्ञान, सीप र क्षमताले भरिपूर्ण बनाउँदै ट्राफिक प्रहरीलाई अझै राम्रो र स्मार्ट बनाएर लैजाने मेरो योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै