४ साउन , काठमाडौँ । फिरौती माग्ने ध्येयसहित एक वर्षकी बालिका अपहरण गर्ने दुई जनालाई पक्राउ गर्दै मोरङ प्रहरीले बालिकाको पनि सकुशल उद्धार गरेको छ।

सोमबार बिहान विराटनगरबाट अपहरित बालिकालाई प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर बुधबार विराटनगर ल्याएको छ।
अपहरण गर्ने अनु साह र रवीन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार पैसा माग्ने उद्देश्यसहित उनीहरूले मोरङ बुढीगंगा १ का दिपेन यादवकी एक वर्षकी छोरी निकिशाको अपहरण गरेका थिए। तर, फिरौती माग्ने योजना बनाउँदै गर्दा नै उनीहरू प्रहरी फन्दामा परेपछि उनीहरूको योजना विफल बनेको प्रहरीको भनाइ छ।
‘उनीहरूले पैसाकै लागि अपहरण गरेको देखिएको छ’, एसपी कोइरालाले भने, ‘तर, पैसा माग्न भने पाएनन्। हामीले बालिकाको उद्धार गर्यौं, योजनाकार रवीन्द्र र बच्चा भारतमा लुकाउने अनु दुवैलाई पक्राउ गरेका छौं।’
तीन वर्षदेखि चिनजानमा रहेर निकट सम्बन्धमा रहेका अनु र रवीन्द्रले बालिकाका बुवालाई विश्वास दिलाएर नाटकीय शैलीमा अपहरण गरेको घटनाक्रमले देखाउँछ।
रवीन्द्रकै योजना अनुसार दिपेनलाई बारम्बार फोन गरेर सम्पर्क बढाएकी अनुले अन्ततः साउन २ गते सोमबार उनकी छोरी अपहरण गरेकी थिइन्।
त्यसदिन अनुले विराटनगरस्थित रोडशेष चोकबाट निकिशाको अपहरण गरेकी थिइन्।
प्रहरीका अनुसार रवीन्द्रको योजना अनुसार अनुले दिपेनसँग दुई महिनायता निकटता बढाएकी थिइन्। फोनमा कुराकानी गर्ने, भेटघाट गर्ने क्रम बाक्लिँदै गएपछि दिपेनलाई अनुले छोरी देखाउन भनेकी थिइन्।
‘अनुले छोरी देखाउन कर गरेपछि सोमबार बिहान नौ बजे आफ्नै कारमा छोरी राखेर दिपेन रोडशेष चोक पुगेका रहेछन्’, प्रहरी स्रोतले भन्यो,‘बाबुसँग गएकी छोरी एकैछिनमा उनीहरूले अपहरण गरेका रहेछन्।’
कारमा छोरी लिएर विराटनगरको स्वागतम होटल अगाडि पुगेपछि दिपेनको कारमा अनु पनि चढेकी थिइन्। कारमा बस्नेबित्तिकै अनुले बालिकाले लगाएको लुगा फेरिदिएकी थिइन्। त्यसपछि उनीहरू चिया खान कलेज रोडतिर लागेका थिए।
दिपेनले चिया अर्डर गर्दै गर्दा बच्चा बोकिरहेकी अनुले दिपेनसँगै मोबाइल मागेर कसैलाई फोन गर्नुछ भनेकी थिइन्। दिपेनले फोन दिएपछि उनी कुरा गरेजस्तो गर्दै बच्चा बोकेरै बाहिर निस्केकी थिइन्।
केही पर अपहरणका मुख्य योजनाकार रवीन्द्र बाइक लिएर ‘स्ट्याण्डबाइ’ बसेका थिए। त्यही बाइकमा उनीहरूले बालिकालाई लिएर गए। दिपेन छोरी र अनुलाई पर्खेको पर्ख्यै भए। धेरैबेर नआएपछि बल्ल दिपेन झस्केका थिए।
उनीहरूले बालिकालाई दुहबी, इनरुवा, राजविराज हुँदै कुनौली पुर्याएको र त्यहाँबाट गाडी रिजर्भ गरेर दरभंगा लगेका थिए। रवीन्द्र भने दरभंगाबाट फर्केका थिए।
घटनाबारे जानकारी पाएपछि खटिएको मोरङ प्रहरीले भारतबाटै अनुलाई पक्राउ गरेर बालिकाको उद्धार गरेको थियो। रविन्द्रलाई भने बुढीगंगास्थित उनकै श्रीराम ट्रेडर्सबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।






