३१ साउन ,काठमाडौ । माननीय गृहमन्त्री बालकृष्ण खाणले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

निरीक्षण पश्चात गृहमन्त्री खाणले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, संघिय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै गृहमन्त्री खाणले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गर्नुभयो । सुरक्षाको दृष्टिकोणले ज्यादै नै संवेदनशील ठाउँहरुमा आमनागरिक तथा जनप्रतिनिधिहरुबाट प्रहरी कार्यालयहरुको स्थापना, स्तरवृद्धि, आधुनिकिकरणको माग एवम् सुझाव आएको उल्लेख गर्दै सबै प्रहरीको क्षमता अभिवृद्धि, अपराध नियन्त्रण एवं अनुसन्धानमा प्रविधिको प्रयोग, नविन भूमिका एवम् दायित्वको लागि नेपाल सरकार पूर्ण सकारात्मक रुपमा अगाडि बढेको उहाँले बताउनुभयो ।
प्रहरीको कार्यालय स्थापनाको लागि जग्गा, निर्माण सामाग्री उपलब्ध गराउने एवम् आर्थिक सहयोग गरी प्रहरीको हौसला बढाउन सहयोग गर्ने दाता तथा नागरिकप्रति उहाँले सम्मान प्रकट व्यक्त गर्नुभयो ।
सामाजिक दायित्वको रुपमा आउने बहुआयमिक समस्याहरुलाई सम्बोधन गर्न नेपाल प्रहरी सदैव पहिलो पंक्तिमा रहेर आफ्नो कर्तव्य निर्वाह गरेको चर्चा गर्दै गृहमन्त्री खाणले कोभिड-१९ संक्रमण नियन्त्रण एवम् रोकथामको लागि नेपाल प्रहरीले संचालन गरेको अभियान सराहनीय रहेको बताउनुभयो ।



