६ भदौ , काठमाडौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान भएको छ ।
क्रियाशील सदस्यताकै कारण महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएकोमा सोमबार नेताहरुले सहमतिमै विवाद टुंग्याएका हुन् ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका छन् ।
देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा।मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । नेताहरू डा। मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले आजमात्र प्रतिवेदन बुझाएको हो ।
कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।


