Comments Add Comment

Advertisment

SKIP THIS

‘हनी ट्र्याप’मा पारेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ

सुन पसल बेचेका एक जनालाई ‘हनी ट्र्याप’मा पारेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

हनी ट्र्यापमा पारेको आरोपमा प्रहरीले चार महिला र एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो। यस घटनामा संलग्न दुई जना अझै फरार छन्।

रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ घर भई घोराही उपमहानगरपालिका बस्ने ४० वर्षीय दिलिपकुमार वली, घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने प्रमिला नेपाली पक्राउ परेका छन्।

घटनामा संलग्न अजय बुढाथोकी र लोकेन्द्र मगर फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बिहीबार कार्यालयमा पत्रकार सम्मेलन गरी पक्राउ परेका आरोपित पाँच जनालाई सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरूले नारायणपुरमा हालै सुन पसल बिक्री गरेका स्थानीय दिनेश घर्ती मगरलाई हनी ट्र्यापमा पारेका हुन्।

उनले जाहेरी दिएपछि प्रहरीले यसमा संलग्न पाँच जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

उनका अनुसार पक्राउ परेका आरोपित दिलिपकुमार वली र दिनेश घर्ती मगर मिल्ने साथी हुन्।

केही समयअघि मात्रै सुन पसल बेचेका दिनेशसँग पैसा छ भन्ने दिलिप कुमारलाई थाहा थियो। उनीसँग पैसा भएको थाहा पाएसँगै उनले दुई-तीन महिना अघिदेखि नै योजना बनाउन सुरू गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

दिनेशसँग भएको पैसा लिनको लागि उनले स्थानीय शान्ता र पवित्रासँग बसेर योजना बनाएका थिए। पछि यसमा विमला पनि जोडिएकी थिइन्।

शान्ताले यसमा आफ्नी नन्द पर्ने सर्मिलालाई प्रयोग गर्न सकिने भन्‍दै सबैलाई योजना सुनाइन्। सर्मिला श्रीमानसँग सम्बन्ध बिग्रिएको हुँदा एक्लै बस्दै आएकी थिइन्। उनको आयस्रोत पनि थिएन।

उनीहरूले सर्मिलालाई सुनको तिलहरी दिएर दिनेशको पसलमा बेच्न पठाउने, चिनजान गर्ने र फोन नम्बर पनि मागेर ल्याउने योजना बनाए। सर्मिला पनि उनीहरूको योजनाअनुसार काम गर्न तयार भइन्।

एक दिन सर्मिलाले दिनेशलाई फोन गरेको र उनीहरूबीच प्रेमका कुराकानी समेत भएको प्रहरीले जनाएको छ। पटक/पटक भेटेर सर्मिलाले दिनेशको विश्वास जितिसकेकी थिइन्।

उनीहरूबीच भएका सबै गतिविधि सर्मिलाले शान्ता लगायतलाई जानकारी गराउथिन्। त्यसपछि थप योजना बनाउन उनीहरू पवित्राको घरमा बस्ने गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

त्यहाँ उनीहरूले दिनेशलाई कहाँ बोलाउने, कसरी समात्ने र बार्गेनिङ गरी कति रकम भागबन्डा गर्ने योजना तयार पारे। योजना अनुसार नै सर्मिला एक महिना अघि नै पवित्राको घरमा डेरा लिएर बस्न थालेकी थिइन्।

फेरि पवित्राले यसमा अरू केही साथीहरूलाई पनि जोड्न पर्ने भन्दै अजय र लोकेन्द्रलाई पनि सामेल गराए।

त्यसपछि साउन २६ गते पवित्राको घरमा उनीहरू सातै जना बसेर अन्तिम योजना बनाएका थिए।

सोही राति सर्मिलाले आफू कोठामा एक्लै भएको भन्दै दिनेशलाई बोलाएका थिए। दिनेश राति ११ बजे सर्मिलाको कोठामा आइपुगेका थिए। कोठा आएपछि सर्मिलाले शान्तालाई मेसेज पठाएर जानकारी गराइन्।

मध्यरात भएपछि भने उनीहरूले ढोका ढकढक्याए। सर्मिलाले ढोका खोलेपछि अजय, लोकेन्द्र र दिलिप मिलेर दिनेशमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ।

कुटपिट गरेपछि दिनेशलाई उनीहरूले पवित्राकै घरको अर्को कोठामा पुर्‍याएका थिए।

सुरूमा उनीहरूले छोरी चेलीको इज्जत भर्नुपर्छ भन्दै घोराही बजारको घडेरी सर्मिलाको नाममा पास गरिदिन प्रस्ताव राखे। दिनेशले तत्काल घडेरी पास गर्न सम्भव नभएको बताए।

त्यसपछि भोलिपल्ट बिहानै उनीहरूले दिनेशलाई घोराही-१३ बडहरास्थित एकान्तस्थलमा रहेको इँट्टाभट्टा नजिकै पुर्‍याए। उनीहरूले दिनेशमाथि बलात्कारको मुद्दा हालिदिने भन्दै धम्की समेत दिएका थिए।

उनीहरूले दिनेशसँग नगद पनि मागे। दिनेशले आफ्ना भतिजलाई फोन गरी एक लाख नगद र बैंकका चेक मगाएका थिए। भतिजले ल्याएका एक लाख नगद लिएसँगै सुरूमा दुई-दुई लाखको चेक लेख्न पनि उनीहरूले दिनेशलाई बाध्य पारे। त्यतिले नपुगेर उनीहरूले फेरि सात लाख २० हजारको चेक पनि काट्न बाध्य पारे।

१२ लाख २० हजार रुपैयाँ लिइसकेपछि भने उनीहरूले दिनेशलाई छाडे। सो रकम र चेक आफूहरूबीच बाँडफाँट गर्ने भन्दै अजयले आफूसँग राखेका थिए।

उनीहरूको बन्धकबाट फुत्किएपछि दिनेश जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। उनले आफूलाई हनी ट्र्यापमा पारेर फसाएको भन्दै प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई जानकारी गराएका थिए।

त्यस्तै, जाहेरी पनि दिएपछि प्रहरी परिचालन गरी साउन २७ गते राति नै दिलिप, शान्ता, पवित्रा, विमला र प्रर्मिलालाई पक्राउ गरेको थियो।

प्रहरीले उनीहरूविरूद्ध आपराधिक लाभ कसुरमा अनुसन्धान अघि बढाएको बताएको छ। जिल्ला अदालत दाङबाट सात दिन थुनामा राखेर उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै