२३ भदौ , काठमाडौँ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ ।
बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले बताए ।
दुवै जनाको उपचारकै क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो। भेरी अस्पतालमा अहिले डेंगु सङ्क्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन् । पहिलो पटक डेंगुको सङ्क्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले सङ्क्रमण फैलिनसक्ने डा चापागाईंले बताए। बाँकेमा डेंगु सङ्क्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।
समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए । रासस



