Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि आक्रमण

१२ कार्तिक , काठमाडौं । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उनको घरभित्रै पसेर आक्रमण भएको छ।

स्थानीय समयअनुसार शुक्रबार बिहान एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए । उनी सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका थिए ।

पछि उनले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई ह्यामरले आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ। आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गरेका थिए।

केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ । ४२ वर्षीय डेभिड डेपापे नामका ती पुरूषले पेलोसीमाथि किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन । प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

आक्रमणबाट पउलको टाउको, पाखुर र हात चोट लागेको छ । अस्पतालमा भर्ना भएका पउल चाँडै निको हुने चिकित्सकहरूले अपेक्षा गरेका छन्।

पति पउलमाथि आक्रमण हुँदा समामुख पेलोसी वासिङ्टनमा थिइन् । नोभेम्बर ८ मा हुन लागेको मिडटर्म चुनावको केही दिनअघि मात्रै सभामुखका परिवारमाथि भएको यो आक्रमणले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ।

राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको भत्सर्ना गरेका छन्। विपक्षी रिपब्लिकन पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका नेताहरूले पनि आक्रमणको निन्दा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै