१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
गृहजिल्ला डडेल्धुराको नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन् । देउवाले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार नै सम्बोधन गरिसके ।
प्रधानमन्त्री देउवा कात्तिक २२ गतेसम्म जिल्लामा रहने कार्यक्रम तय भएको छ । उस अवधिमा देउवाले सातवटा चुनावीसभामा सहभागी सम्बोधन गनेर्छन ।
प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने कार्यक्रम छ ।
चुनावीसभालाई प्रधानमन्त्री देउवासँगै कांग्रेस केन्द्रीय सदस्य डा. आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार खगराज भट्ट, प्रदेशसभा (ख) का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहरालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
त्यसैगरी, नेकपा (एकीकृत समाजवादी)का नेता निरा जैरु, जनमोर्चाका नेता नन्दराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम–लोकतान्त्रिक गठवन्धनका चुनावी संयोजक भीमबहादुर साउदले जानकारी दिए ।
कांग्रेस डडेलधुराका सभापतिसमेत रहेका साउदका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेका छन् ।



