काठमाडौं, नेपाल प्रहरी संगठनको सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक किरण राणाले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायव महानरीक्षकहरूले सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो । 
उक्त अवसरमा,प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।



