२१ पुष , काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले सडकका खाल्डो निरीक्षण गरेका छन् । सोही क्रममा बिहीबार मन्त्री श्रेष्ठले काठमाडौंको सीतापाइला पुगेर सडकको खाल्डो पुरिएको निरीक्षण गरेका छन्।
मन्त्री श्रेष्ठले केही दिनअघि उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र र देशभरिका राजमार्गको १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका थिए । उनले आफ्नो निर्देशनअनुसार काम सुरु भइसकेको तर काम गर्नेहरुलाई प्रोत्साहन गर्न आफू सडकमा आएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाका सडक भौतिक पूर्वाधार मन्त्रालय मातहत मात्र नरहेको भन्दै कतिपय सडक काठमाडौं महानगरपालिका, उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत समेत रहेको बताए । उनले ती निकायसँग पनि सडक मर्मत सम्भारका लागि छलफल गर्ने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायत पदाधिकारी खाल्डो पुरेको हेर्न सितापाइला पुगेका थिए ।



