काठमाडौं । निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेर निजी निवास गएका हुन् ।

लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफ्नो निजी गाडीमा गएका थिए ।
सर्वोच्च अदालतले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएको थियो। सर्वोच्चको आदेशसँगै लामिछानेले अब पुन: प्रक्रिया पुर्याएर नागरिकता लिनुपर्नेछ।


