१९ माघ , काठमाडौ । उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौँमुखी भएर बस्न नहुने बताएका छन् ।
आज ९बिहीबार० संसद भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु यस्तै काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने बताएका हुन् ।
उनले भने, ‘हामी काठमाडौँ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा नागरिकले राँको बालेर खेदाउँछन् । सांसदहरु काठमाडौँ मात्र केन्द्रित हुनु हुँदैन । सांसदहरुले स्थलगत अवलोकन गरेर नागरिकका समस्यालाई उठाउनु पर्छ ।’
यस्तै उनले अवलोकनका क्रममा उपसभामुख पदलाई हेप्ने गरेको पाएको बताएका छन् । उनले उपसभामुखलाई उप÷चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताए । आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा यस्तो पाइएको उनले बताए ।
उनले भेन, ‘मैले केही गाउँको अवलोक गरें । उपसभामुखलाई उप, चुप भन्ने गरेको पाएँ । मैले यसमा उप अब उपर अर्थात् माथि जाने हो भनेर आएकी छु ।’
उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरेर गाउँघरका समस्यालाई संसदमा उठाउनु पर्ने बताए ।


