१२ वैशाख , काठमाडौ । बारा– २ मा सम्पन्न उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ । मतपेटिका राखिएको कोठाको चाबी नै खोसिएपछि केहीबेर मतगणना स्थगित भएको थियो ।
मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले चाबी खोसेका थिए । तर घण्टापछि चाबी फिर्ता लिएपछि मतगणना पुनः सुचारु भएको हो ।
चुनावमा बुथ कब्जा र धाधली भएको भन्दै नेकपा एमाले र जनमतका प्रतिनिधिले आरोप लगाउँदै आएका छन् । यस्तै विवादमा एमालेका प्रतिनिधि मोहन लामिछाने र जनमतका प्रतिनिधि सियाराम कुशवाहाले पालैपालो चाबी लगेर हिडेका थिए । निर्वाचन कार्यालयले माइकिङ गरेर चाबी फिर्ता मागेपछि मतगणना सुचारु भएको हो ।
बारा– २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले १३ हजारभन्दा बढी मत ल्याएका छन् । उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार २ सय र नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ५ सय मत कटाएका छन् । यस्तै, रास्वपाका रमेश खरेलले २ हजार मत कटाएका छन् ।


