
७ मंसिर , काठमाडौ । कोरोना महामारी र त्यसपछि उब्जिएका विभिन्न प्रश्नका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणको खेल सकिएको छ ।

सोमबार साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीचको खेल सकिएसँगै पहिलो चरणको खेल समाप्त भएको हो । शुक्रबार (३ मंसिर) बाट सुरु भएको लिगको पहिलो चरणमा ७ खेल भए ।

पहिलो चरणको खेल सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब, कीर्तिमानी आठौं पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लब, तीन पटकको लिगविजेता थ्रीस्टार क्लब र ब्रिगेड ब्वाइज क्लबले शतप्रतिशत जित निकाल्दै महत्वपूर्ण ३ अंक जोडे ।
साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लबले बराबर खेल्दै हार टारे भने एक अंक हासिल गरे ।
विभागीय एपीएफ फुटबल क्लब, न्युरोड टिम एनआरटी, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब भने पराजित भए ।
लिगको उद्घाटन खेलमा फ्रेन्ड्स र सातदोबाटोले गोलरहित बराबरी खेले । दोस्रो खेलमा संकटा र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दा तेस्रो खेलमा च्यासल युथ क्लबलाई थ्री स्टार क्लबले ३-० ले पराजित गर्यो ।
लिगको तेस्रो दिन तथा चौथो खेल रोमाञ्चक बन्दा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्यो । पाँचौ खेलमा कीर्तिमानी आठौं पटकको विजेता मनाङले जावलाखेलसँग १-० कठिन जित पायो ।
पहिलो चरणको छैटौं तथा विभागीय डर्बीको खेलमा साविक विजेता आर्मी नेपाल पुलिससँग १(१ गोलको बराबरीमा रोकियो । यस्तै अन्तिम खेलमा साविक विजता मछिन्द्रले प्रतिस्पर्धात्मक खेलमा न्युरोड टिम एनआरटीविरुद्ध २-१ को कठिन जित पायो ।
अघिल्लो वर्ष (२०७६) मा अन्तिम खेलमा लिग जित्न एक अंक आवश्यकता रहेको समय मछिन्द्रलाई १-० ले नतिजा सुम्पिएको आर्मीले यस सिजन भने सुरुवाती खेलमै धक्का व्यहोर्यो । लिग जित्ने दाबीसहित प्रतियोगितामा होमिएको आर्मी सुरुआती खेलमै विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिससँग १-१ गोलको बराबरीमा रोकियो ।








