Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको योगदान उल्लेखनीय छ : आईजी कुँवर

७ असोज , काठमाडौ । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले लागूऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन् । कुलतमा फसेका व्यक्तिहरूलाई पुनस्जीवन प्राप्तिको यात्रामा केन्द्रको ठूलो योगदान रहेको कुँवरको भनाइ छ ।

आसरा सुधार केन्द्र रानीबारीको २७ औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै कुँवरले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन आसरा केन्द्रले मद्दत पुर्‍याएको बताए ।

राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यहरूलाई केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको आईजी कुँवरको भनाई थियो ।

त्यस्तै लागूऔषधको कारोबार तथा लागूऔषधमा संलग्न व्यक्तिहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उहाँले जानकारी गराए ।

सो अवसरमा आईजी कुँवर र उक्त केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउनुहुने केन्द्रका पूर्व अध्यक्षद्वय श्रीमती ज्ञानु ज्ञवाली र श्रीमती कुशुम लता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष श्रीमती रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरे ।

त्यस्तै आईजी कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गरे ।

समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरिन् ।

उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिवन्दले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरुलाई कानुनी दण्डबाट दण्डित गरिनु भन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलनमा फर्काइनु पर्दछ भन्ने लक्ष्य राखी स्थापना भएको आसरा सुधार केन्द्रले सोही अनुरूप काम गर्दै आएको उल्लेख गरिन् ।

केन्द्रकी सचिव श्रीमती सीता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरुले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment