काठमाडौं : काभ्रेमा एक जना पुरूषको हत्या गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्।
आइतबार बिहान ७:५० बजे भक्तपुर-काभ्रे सिमाना पर्ने बनेपा नगरपालिका-१ नालाको प्लटिङमा सिन्धुली मरिण गाउँपालिका-५ घर भई हाल बनेपामा बस्ने ५५ वर्षीय दुधलाल थिङको शव फेला परेको थियो।

थिङको हत्यामा संलग्न चागुनारायण नगरपालिका वडा नं ८ का समिर राय र बनेपा नगरपालिका वडा नं १ का इश्वर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।
थिङको शरीरमा चोटपटक देखेपछि प्रहरीले हत्या भएको शंका गरी अनुसन्धान अगाडि बढाएको थियो।
ईलाका प्रहरी कार्यलय बनेपा डिएसपी लालध्वज सुवेदीका अनुसार उनीहरूले मादक पदार्थ सेवन गरेको र घर फर्किने क्रममा थिङसँग घटनास्थलमा भेट भई विवाद हुँदा रिसको आवेगमा कुटपिट गरेर भागेको स्वीकार गरेका छन्।

डीएसपी सुवेदीका अनुसार घटनास्थलमा चप्पल, झोला, कपडा छरिएको अवस्थामा फेला परेको र सडकभन्दा १०० मिटर तल भिरालो स्थानमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो।
मृतकका छोराले दिएको जाहेरीका आधारमा प्रहरीले राय र विकलाई पक्राउ गरेको हो। उनीहरूले आफूले थिङको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। पक्राउ परेका दुवैजनाले मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा थिङसँग सामान्य भनाभन भएको र आवेगमा आइ ढंगा प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
उनीहरूले हत्या गरेको स्वीकार गरेकाले मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी सुवेदीले जानकारी दिएका छन् ।



