Comments Add Comment

Advertisment

SKIP THIS

इजरायलबाट प्रधानमन्त्रीलाई पत्र- फर्कने वातावरण मिलाइदिनुहोस्, देशमै रमाउनेछौँ

२२ असोज , काठमाडौ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२, शेराचौरका सुरज भण्डारीले इजरायलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक पत्र लेखेका छन् ।

एक महिना अघि मात्र एघार महिने प्रयोगात्मक अभ्यासका लागि इजरायल पुगेका भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई देश फर्कने वातावरण मिलाइदिन अनुरोध गर्दै पत्र लेखेका हुन् । इजरायल टेकेको महिना पनि नपुग्दै द्वन्द्वको चपेटामा परेपछि दुई देशको चपेटामा परेर ज्यान गुमाउन नचाहेको भन्दै सोमबार पत्र लेखेका हुन् ।

भण्डारीले लेखेको पत्र अहिले सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा भाइरल बनेको छ । सुरजले प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्र लेखिरहँदा यता शेराचौरमा रहेका परिवारका सदस्य भने निकै नै तनावमा छन् ।

सुरजले भने प्रधानमन्त्रीलाई पत्र लेख्दै स्नातक तह सकिनै लागेको आफ्नो समूहको ११४ जना विद्यार्थी इजरायल पुगेको उल्लेख गरेका छन् । ‘११ महिनामा केही सीप सिकेर नेपाल फर्किएर नेपालमै केही गर्ने सपनाको संसार भत्किन गइराखेको छ,’ भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ, ‘आत्मबल पनि घटिरहेको छ । मानसिक तनावमा पुग्न लागेका छौ। धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।’

आकाशमा चरा उडेको देखेका आफूहरू अहिले मिसाइल र फाइटर प्लेन देख्नुपरेको उनले पत्रमा उल्लेख गरेका छन् । बंकरमा समेत आफूहरू असुरक्षित रहेको भण्डारीको पत्रमा उल्लेख छ ।

हलामा परेमा गोली निल्नुको विकल्प नरहेको पत्रमा उल्लेख छ । आफूहरूलाई तत्कालै स्वदेश फर्किने मन रहेको पनि भण्डारीले पत्रमा समेटेका छन् ।

‘प्रधानमन्त्री ज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो, दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन,’ भण्डारीको पत्रमा समेटिएको छ, ‘प्रधानमन्त्रीको प्रत्याभूति तपाईँले गराउनु हुनेछ, हाम्रो विश्वास पनि छ । यही विश्वासमा सास अडिएको छ ।’

प्रधानमन्त्री प्रचण्डलाई विद्यार्थी भण्डारीले इजरायलबाट लेखेको पत्र :

श्रीमान प्रधानमन्त्रीज्यू,

नेपाल सरकार

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिन लागेका विद्यार्थीहरु ११४ जना अहिले हामी इजरायल र हमासको द्वन्द्वको चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सीप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गइराखेको छ । हाम्रो आत्मबल घट्दै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौं अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।

आकाशमा चरा उडेको देखेको हामी, आज मिसाईल र फाइटर प्लेन देख्नुपरेको छ । तिहारमा पटका खुशीका साथ रमाउँदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ । बंकरमा लुक्यो भने बंकर भित्र नै छिरेर आक्रमण भइराखेको छ ।

हाम्रा सुदुरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छ । हामी स्तब्ध छौ, हमलामा पर्यो भने गोली निल्नुको अर्को विकल्प केही पनि छैन । लुकेर बसेका हामीहरु खाना र पानीको समस्यामा जुध्नुपरेको छ ।

नखाउँ भने भोक र प्यास लाग्छ, खाउँ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यत्तिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भर्खरै हाम्रो देश फर्कन मन छ ।

आदरणीय प्रधानमन्त्रीज्यू, अबको हाम्रो आशा पनि तपाईँ नै हो, भरोसा पनि तपाईँ नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन, हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउनेछौं ।
हामी नेपालको ‘३’ विश्वविद्यालयबाट यहाँ छौ ।

१) कृषि तथा वन विज्ञान विश्वविद्यालय

२) त्रिभुवन विश्वविद्यालय

३) सुदुरपश्चिम विश्वविद्यालय

सँगसँगै यहाँ अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ, छिटोभन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्रीको प्रत्याभूति तपाईंले अवश्य गराउनुहनेछ । यो हाम्रो तपाईंप्रतिको विश्वास हो, यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।

(युद्धको चपेटामा परेको नेपाली) सुरज भण्डारी
कृषि तथा वन विज्ञान विश्वविद्यालय
(हाल ठेगाना)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment