
१३ मंसिर ,काठमाडौ । ‘प्रेममा सब कुरा जायज हुन्छ ।’ त्यसैले त हामी भन्छौं नि प्रेम अन्धो हुन्छ । प्रेममा कुनै पनि सीमा नाघ्न तयार हुन्छन् युगल जोडीहरु ।
यो कुरा आम मानिसमा मात्र होइन, समाजका मार्गदर्शक मानिने सेलिब्रेटीको हकमा पनि लागू हुन्छ । सेलिब्रेटीहरुले प्रेम सफल बनाउन परिवारदेखि समाजसँग ठूलो युद्ध लडेका छन् । कतिको प्रेम सफल भएको छ भने कतिको प्रेम अधुरो रह्यो ।

करिअरलाई असर पर्ने डरले कतिपय सेलिब्रेटीहरु प्रेम लुकाउन चाहन्छन् । बजारमा प्रेमको चर्चा चलिहाले उनीहरुसँग रेडिमेड जवाफ हुन्छ, ‘हामी साथी मात्र हौं ।’ नायिका वर्षा शिवाकोटी र नायक राज कटुवालले पनि केही समयदेखि यही रेडिमेड बोली बेचिरहेका छन् । तर, भित्रभित्रै भने उनीहरु चुर्लुम्मै प्रेममा डुबिसकेका छन् । चाहे उनीहरुले यो सम्बन्धलाई जुनसुकै नाम दिउन् ।

गत वर्ष पहिलो पटक एकसाथ होली मनाएपछि वर्षा र राजको प्रेम चर्चा चल्न सुरु भएको थियो । यसपछि सामाजिक सञ्जालमा घुमाउरो रुपमा एकअर्काप्रति प्रेम पोख्न सुरु गरेका उनीहरुले केही म्यूजिक भिडियोमा अभिनय पनि गरिसकेका छन् । यसपाली दशैं लगत्तै यो जोडी दुबई घुम्न पनि निस्कियो । अब हुँदा-हुँदा वर्षा र राजले एउटै लुगामा फोटो सेसन समेत गर्न थालेका छन् ।
केही समयअघि राजले आफ्नो गाडीमा खिचेको एक तस्विर फेसबुकमा राखेका थिए, जसमा उनले निलो, सेतो र रातो धर्का भएको ज्याकेट लगाएका छन् । वर्षाले तीन दिनअघि राजको त्यही ज्याकेट लगाएर खिचेको तस्विर इन्टामा राखेकी छन् । दुवैको लुगा मिलेपछि यो जोडीको फेरि चर्चा सुरु भएको छ । हुनत, मन नै मिलिसकेपछि एउटै लुगा साटी(साटी लगाउनु के अनौठो भयो र ?








