
१४ मंसिर , काठमाडौ । यतिबेला मुख्य राजनीतिक दलहरू नेतृत्व परिवर्तनको महासंग्राममा छन् । कांग्रेस, एमाले र माओवादी केन्द्र वडादेखि पालिका हुँदै केन्द्रसम्मको नेतृत्व परिवर्तनको क्रममा छन् ।

विशेषगरी पुराना मानिएका कांग्रेस र एमालेले नेतृत्वमा पाको उमेर र खारिएका व्यक्तिलाई नेतृत्व सुम्पिने होडबाजीमा छन् । तर, माओवादी केन्द्रले भने पर्वतका सबै पालिकामा युवालाई नेतृत्व सुम्पिएको छ । हालसम्म अधिवेशन सम्पन्न भएका कुश्मा र फलेबास नगरपालिका, जलजला, बिहादी, मोदी र पैयुँ गाउँपालिकामा युवाको नेतृत्वमा समिति चयन भएको छ । सहमतिमै चयन भएका सबै पालिकाको नेतृत्व युवालाई सुम्पिन पाको उमेरका व्यक्ति पनि सहजै सहमत भएको माओवादी केन्द्रका पदाधिकारी बताउँछन् ।

कुश्मा नगरपालिकामा हालै सम्पन्न अधिवेशनमा ६५ जना नगरस्तरीय समिति गठन हुँदा ३१ वर्षीय शंकर गिरीको अध्यक्षतामा सबैजसो पदाधिकारी युवा नै चुनिए । उपाध्यक्ष मीनराज केसी, तारा पराजुली र भगवती पौडेल सबै ४० वर्ष मुनिकै हुन् । त्यस्तै सचिव भीमबहादुर नेपाली र सहसचिव ऋषिराम पौडेल पनि युवा नै हुन् । फलेबास नगरपालिकाको अध्यक्षमा सर्वसम्मत चुनिएकी शोभा क्षत्री पनि ४० वर्ष पुगेकी छैनन् ।
फलेबासमा अध्यक्ष सर्वसम्मत भए पनि अन्य पदमा भने आकांक्षी धेरै भएका कारण कुरा नमिलेको क्षेत्रीले बताइन् । बिहादीका अध्यक्ष ऋषिराम भुसाल र पैयुँका रेशमलाल सापकोटा, मोदीका कृष्ण सुवेदी र जलजला गाउँपालिकामा सर्वसम्मत अध्यक्ष भएका दीपक आचार्य पनि ४० वर्ष मुनिकै हुन् । अन्य राजनीतिक दलमा पाको पुस्ताले नेतृत्व लिन हानथाप गरिरहँदा माओवादीमा पाको पुस्ता नभएर हो रु भन्ने जिज्ञासामा कुश्मा नगरपालिका अध्यक्ष गिरी भन्छन्, ‘हाम्रो पार्टीमा पाको पुस्ता नभएको होइन । तर, उहाँहरूले नै युवालाई नेतृत्व दिँदा पार्टी सशक्त, गतिशील र बलियो हुन्छ भनेर नै हामीलाई जिम्मेवारी दिनुभएको हो । हामी त्यो जिम्मेवारी पूरा गरेरै छोड्छौं ।’
एमाले र माओवादी एकताको क्रममा तत्कालीन नेकपाको कुश्मा नगर समितिको इन्चार्जसमेत रहेर काम गरेका गिरी कुश्मा बजारकै स्थायी बासिन्दा हुन् । आफूले कोही आउने भए नेतृत्वमा छाडिदिन्छु भनेको फलेबासकी अध्यक्ष क्षत्रीले बताइन् ।







