काठमाडौं । स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न ९ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचविखन गर्दै कालोबजारी गर्ने गरेका थिए । प्रहरीले यसमा संलग्न ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।
काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले माघ २ गते बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गरेको थियो ।
सो क्रममा नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो । सो क्रममा मदिरा बनाउन प्रयोग गर्ने समानहरु, सगुन ब्राण्डको मदिरा पदार्थ, चिनि-पानी मिश्रीत तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ एवं प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरु लगायत अन्य विभिन्न सामाग्रीहरू फेला पारेको छ।
बुधबार कागेश्वरी मनोहरा नगरपालिका-५ थलिस्थित भरत थापाको २ तले पक्की घरमा बिनोद कुमार कार्कीले भाडामा लिई बसेको कोठामा खानतलासी गर्दा नक्कली रक्सीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।




