काठमाडौँ – बागमती प्रदेशका खेलाडी सुर्य तामाङ प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
प्रतियोगिताको समापन पश्चात सुर्यलाई उत्कृष्ट खेलाडीको रुपमा घोषणा गरिएको हो । उत्कृष्ट खेलाडीको उपाधि संगै उनले एकथान मोटरसाइकल प्राप्त गरे ।
सुर्यले ९ खेल खेल्दै ३० विकेट लिन सफल भएका थिए । बागमती प्रदेश लिग चरणमा तेस्रो स्थान हासिल गर्दै एलिट कपका लागि छनोट भएको थियो । उत्कृष्ट खेलाडीको उपाधि सँगै सुर्य प्रतियोगिताको उत्कृष्ट बलर समेत घोषित भएका थिए ।
प्रतियोगिताका उत्कृष्ट ब्याटर मदेश प्रदेशका अनिल शाह चुनिए । उनले ९ खेलमा १ शतक र २ अर्धशतक सहित ३८६ रन बनाएका थिए ।

बागमती प्रदेशकै आशुतोष घिराइया उदयमान खेलाडी चुनिए । उनले ९ खेलमा २ अर्धशतक र १ शतक सहित ३८२ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थान हासिल गरेका थिए ।
प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतियोगिता अवधिभर अपराजित रही उपाधि जित्ने क्रममा पुलिसले आज अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि ६ विकेटको सहज जित हात पारेको हो ।

पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मी संग संयुक्त रुपमा उपाधि उचालेको थियो भने २०१९ मा दोस्रो उपाधि उचालेको थियो ।
आर्मीले दिएको १८२ रनको सामान्य लक्ष्य पुलिसले ३५.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि शंकर रानाले ४३ बलमा ६२ रनको अविजित अर्धशतकीय इनिङ खेले । यस्तै अर्को तर्फ आरिफ शेख ५४ बलमा २७ रन बनाएर नटआउट रहे ।



