
२० मंसिर, काठमाडौ । कैलालीको टीकापुरमा भएको लम्कीका भूपेन्द्र बडुवालको हत्या प्रकरणबारे प्रहरीले अनुसन्धानलाई अघि बढाइरहेको छ । प्रहरीले २३ वर्षीय भुपेन्द्रको हत्यामा संलग्न १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ भने फरार ९ जनाको खोजी गरिरहेको छ ।
कात्तिक २३ गते टीकापुरमा भुपेन्द्रको हत्यामा संलग्न लम्कीचुहा नगरपालिका–३ चिसापानीका महेश रावल, धिरज भन्ने दिपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रबिण रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सन्तोष भन्ने सविनजंग शाहीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
फरार रहनेहरुमा चिसापानीकै नवीन रावल, अनुज भन्ने चिरञ्जीवीजंग शाही, हिमाल शाही, जयन्द्र शाह, विकास शेरचन, रोशनबहादुर शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही रहेका छन् । प्रहरीले अहिले उनीहरुको खोजी गरिरहेको छ ।
यसरी गरिएको थियो भुपेन्द्रको हत्या ?
प्रहरीको अनुसन्धानमा लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो बर्चश्व कायम गर्न लोकजंग शाहीले युवाहरुको समूह परिचालन गरेको भेटिएको छ । र, त्यस समूहलाई अशोक रावलले संरक्षण प्रदान गर्ने गरेका थिए ।
सुरुमा एकै समूहमा रहेका जयन्द्र शाह र नवीन रावलबीच पछि मनमुटाव तथा आपसी वैमनश्यता उत्पन्न भए पछि दुई समूहका युवाहरु बीच पटक पटक झगडा पैदा भएको प्रहरीले अनुसन्धानमा भनेको छ ।
साथै, प्रहरीले अनुसन्धानका क्रममा यी युवाहरुको समूहका सदस्यहरुविरुद्धमा कैलाली र काठमाडौंमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको भेटेको छ ।
०७८ भाद्र महिनामा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नवीन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीको अनुसन्धानकै क्रममा जयन्द्र समूहका कपिल श्रेष्ठले नवीन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाई ०७८ कात्तिक १७ गते काठमाडौंबाट मोटरसाइकलमा गएको र २० गते कैलाली लम्की पुगी मुनमुन होटलमा एक रात बसेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।




