काठमाडौं। नेपाली सर्ट मुभी बजारमा सामाजिक यथार्थ र व्यक्तिगत पीडालाई केन्द्र बनाउने शृंखला बढ्दै गएको बेला, अहिले ‘लक्ष्मीको पीडा’ नामक एक नयाँ टेलिफिल्मले दर्शकहरूको ध्यान आकर्षण गरेको छ।
आरआर मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस टेलिफिल्मले बहुविवाहपछि परिवारमा उत्पन्न हुने जटिलता, पीडा र भावनात्मक द्वन्द्वलाई नग्न यथार्थसाथ उजागर गरेको छ।
समाजमा पाइने बहुविवाहको परिपाटीअन्तर्गत दुवै श्रीमतीहरू (जेठी र कान्छी) ले सहनुपर्ने मानसिक, सामाजिक र पारिवारिक यातना ‘लक्ष्मीको पीडा’को मुख्य आधार हो।
फिल्मले जेठी श्रीमतिलाई घरमा र माइतमा पनि गरिने हेला, उपेक्षा र तिरस्कारको चित्रण गर्दै, उनको अकुंठ पीडा प्रस्तुत गरेको छ। त्यस्तै, कान्छी श्रीमतीले आफ्नो बुढासँगको सम्बन्धमा पाउने माया र भावनात्मक उलझनलाई पनि कथाले समेटेको छ। दुवै तर्फबाट उठ्ने दुःख, असन्तुष्टि र सामाजिक दवाबले गर्दा परिवारको अवस्था जटिल बन्दै गएको देखाइएको छ।
ललित न्यौपानेको लेखन र निर्देशनमा बनेको यो टेलिफिल्म आरआर मिडियाले निर्माण गरेको हो। फिल्ममा ललित न्यौपाने आफैं मुख्य भूमिकामा देखा परेका छन् भने अभिनेत्री निशा कार्की उप्रेती, रामराजा घिमिरे, विके तिवारी, ईश्वर जम्मकट्टेल, रोजिना फुयाँल लगायत बालकलाकार प्रयुश र युनिक फुयाँलले महत्त्वपूर्ण भूमिका खेलेका छन्।
‘लक्ष्मीको पीडा’ टेलिफिल्मको भागहरू आरआर मिडियाको युट्युब च्यानलमार्फत प्रत्येक शुक्रबार नियमित रूपमा सार्वजनिक हुँदै आएको छ।
यसले सामाजिक सञ्जालमा महिला र परिवारका विभिन्न तहमा भइरहेका पीडा र यथार्थपूर्ण समस्याहरू प्रति चासो बटुलिरहेको छ।





