काठमाडौं — तारकेश्वर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आज दोस्रो दिन वडा नं. ८ र वडा नं. २ मा रहेका किराना पसल, ग्यास पसल तथा मासु पसलहरूमा अनुगमन गरेको छ।
नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी, कर्मचारीहरू, पत्रकारहरू, नगर प्रहरी तथा नेपाल प्रहरीको उपस्थितिमा गरिएको अनुगमनका क्रममा विभिन्न पसलहरूको अवस्था निरीक्षण गरिएको थियो।
अनुगमनका क्रममा विशेषगरी मासु पसलहरूलाई अनिवार्य रूपमा वडामा दर्ता हुन निर्देशन दिइएको छ भने होटल व्यवसायी, मासु पसल र किराना पसल सञ्चालकहरूलाई सरसफाइमा विशेष ध्यान दिन कडा निर्देशन दिइएको छ।
तारकेश्वर नगरपालिकाले अब निरन्तर अनुगमनलाई अझ प्रभावकारी बनाउने जनाएको छ। सरसफाइमा लापरवाही गर्ने होटल तथा पसलहरूलाई कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
यसैबीच, वडा नं. ८ मा रहेको एक मासु पसलबाट करिब ७० केजी खसीको मासु बरामद गरी नष्ट गरिएको छ।
साथै, ग्यास व्यवसायीहरूलाई ग्यास नलुकाई पारदर्शी रूपमा बिक्री गर्न आग्रह गरिएको छ। ग्यास लुकाएर बिक्री गरेको पाइएमा कडा कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ।




