काठमाडौं । आयुर्वेदिक जीवनशैलीको प्रवर्द्धन तथा स्वस्थ जीवनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तारकेश्वर नगरपालिका वडा नं. ३ स्थित आयुर्वेद हेल्थ होम नागार्जुन सेन्टरमा ‘आरोग्योत्सव’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
पहिलो अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले स्वास्थ्य, योग, प्राकृतिक उपचार तथा समग्र जीवनशैली सुधारका विविध पक्षहरूलाई समेट्दै सहभागीहरूलाई महत्वपूर्ण सन्देश दिएको छ।
तारकेश्वर नगरपालिकाकी कार्यवाहक मेयर सृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, स्वास्थ्यकर्मी, योग प्रशिक्षक, आयुर्वेद विशेषज्ञ तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उपप्रमुख समेत रहनुभएकी बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकाले आयुर्वेद तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले आयुर्वेद क्षेत्रको विकासमा नगरपालिका सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालको प्रस्तावमा पारित भई पहिलोपटक विश्वभर मनाइएको अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा उहाँले सम्पूर्णमा बधाई तथा शुभकामना व्यक्त गर्दै यसको महत्वबारे समाजमा सकारात्मक सन्देश फैलाउन आग्रह गर्नुभयो।
साथै, काठमाडौँ लगायत विभिन्न स्थानका केही मसाज सेन्टरहरूले वेलनेसको नाममा गलत क्रियाकलाप गरिरहेको उल्लेख गर्दै त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा सेन्टरका प्रमुख डा. बद्री कोइरालाले ‘आरोग्य’ भनेको केवल रोग नभएको अवस्था मात्र नभई शारीरिक, मानसिक र आत्मिक सन्तुलनको समष्टि भएको उल्लेख गर्दै यसको लागि आयुर्वेद, योग र ध्यान अपरिहार्य रहेको बताउनुभयो।
आयुर्वेद काउन्सिलका अध्यक्ष प्रा.डा. श्याममणि अधिकारीले यस्ता कार्यक्रमहरूले स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै प्राकृतिक जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
तारकेश्वर–३ का वडाध्यक्ष परशुराम अर्यालले आयुर्वेदप्रति वडा र नगरपालिका सधैं सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।
नेपाल ट्राभल्स एण्ड टुरका वरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठले वेलनेस दिवसले नेपालमा अन्तर्राष्ट्रिय मेडिकल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
युवा आयुर्वेद चिकित्सक संस्थाका संस्थापक अध्यक्ष डा. व्योम कोइरालाले ‘आरोग्योत्सव’ कार्यक्रमको उद्देश्य समाजमा स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्नु, प्राकृतिक उपचार विधिको प्रवर्द्धन गर्नु तथा आयुर्वेदलाई जनजीवनसँग नजिक बनाउनु रहेको बताउनुभयो।
कार्यक्रममा डा. सन्तोष ठाकुर, डा. शिवमंगल प्रसाद, डा. शरिता श्रेष्ठ, डा. रमेश पौडेल, डा. रबिन भुसाल, बिनोद अधिकारी, सन्तोष कुँवर लगायतले पहिलो आरोग्य दिवस मनाउन पाउनु नेपालकै गौरवको विषय भएको उल्लेख गर्दै शुभकामना व्यक्त गर्नुभयो।
उहाँहरूले आयुर्वेद क्षेत्रमा आयुर्वेद हेल्थ होम तथा यसका संस्थापक स्व. डा. ऋषि कोइरालाको योगदान अतुलनीय रहेको बताउँदै उहाँको परिकल्पनालाई नेपाल सरकारमार्फत अन्तर्राष्ट्रिय स्तरमा साकार पारिएको बताए।
कार्यक्रमको सञ्चालन डा. सागरनाथ अधिकारीले गर्नुभएको थियो।




