तारकेश्वर नगरपालिका वडा नम्बर–११ स्थित दियालो फुलल्यान्डमा The Uncounted Youths र Anahata Nepal को संयुक्त आयोजनामा युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा संस्थागत भूमिकासम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा समाजमा संस्थाले निर्वाह गर्नुपर्ने भूमिका, समुदायप्रतिको जिम्मेवारी, युवाहरूको क्षमता विकास, सामाजिक चेतना अभिवृद्धि तथा सकारात्मक समाज निर्माणमा युवाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा समाजमा बढ्दो हिंसा, विभेद, मानसिक दबाब तथा युवाहरूबीच चेतनाको अभावजस्ता विषयमा समुदायस्तरमै सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो। आयोजक संस्थाहरूले सुरक्षित समाज निर्माण, युवाहरूको मानसिक सशक्तीकरण तथा सामाजिक सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी The Uncounted Youths ले युवाहरूलाई सामाजिक रूपान्तरणको अभियानमा सक्रिय बनाउने, अवसरबाट वञ्चित प्रतिभाशाली युवाहरूलाई सम्बन्धित निकायसँग जोड्ने तथा आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको जानकारी दिएको थियो।
कार्यक्रममा बोल्दै The Uncounted Youths का अध्यक्षले तारकेश्वर नगरपालिकाभित्र रहेका धेरै कार्यदक्ष तथा प्रतिभाशाली युवाहरू अवसरको अभावमा पछाडि परेको उल्लेख गर्दै त्यस्ता युवाहरूलाई उचित प्लेटफर्म, मार्गदर्शन र अवसरसँग जोड्ने कार्यमा संस्था प्रतिबद्ध रहेको बताए।
त्यसैगरी संस्थाका प्रवक्ताले युवाहरू राष्ट्रको मुख्य शक्ति भएको उल्लेख गर्दै विदेश पलायन मात्र समाधान नभएको धारणा राखे। उनले भने, “तारकेश्वरका युवाहरू नेपालका इन्जिन हुन्। हामीले युवाहरूलाई प्रेरित गर्दै सकारात्मक कामतर्फ अगाडि बढाउनुपर्छ। अब अवसर खोज्नका लागि केवल खाडी मुलुकतर्फ होइन, नेपालमै आयस्रोत सिर्जना गर्ने वातावरण बनाउन आवश्यक छ। युवाहरूलाई सीप, अवसर र आत्मविश्वाससँग जोड्ने जिम्मेवारी हाम्रो संस्थाले लिनेछ।”
कार्यक्रममा सहभागी वक्ताहरूले संस्था केवल नामका लागि नभई समाज परिवर्तनको अभियान बन्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले युवाहरूलाई नेतृत्व विकास, सामाजिक सेवा, चेतनामूलक गतिविधि तथा समुदायसँग प्रत्यक्ष जोडिने अभियानमा सक्रिय हुन आग्रह गरेका थिए।
त्यसैगरी Anahata Nepal का अभिभावकले सधैँ The Uncounted Youths सँग सहकार्य गर्दै समाजहितका कार्यहरूमा एकसाथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
आज सम्पन्न कार्यक्रममा कानुनी अधिवक्ताद्वारा बालबालिका बेचबिखन तथा मानव ओसारपसार सम्बन्धी सचेतनामूलक जानकारीसमेत प्रदान गरिएको थियो।
संयुक्त रूपमा सम्पन्न उक्त कार्यक्रमले युवाहरूबीच सहकार्य, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।




