काठमाडौं। नेपालको राजधानी काठमाडौंसँग जोडिएको छिमेकी नगरपालिका तारकेश्वर भएर देशकै महत्वपूर्ण पासाङ ल्हामु राजमार्ग गुड्छ।
नेपाल–चीन व्यापारका लागि रणनीतिक महत्व बोकेको यही सडकमा दैनिक हजारौं सवारीसाधन ओहोरदोहोर गर्छन्। तर विडम्बना, यही राजमार्ग आसपास बसोबास गर्ने स्थानीय भने अझै पर्याप्त सार्वजनिक बस सेवाको अभावमा दैनिक सास्ती भोगिरहेका छन्।
विशेषगरी आठमाइल, मुड्खु र बाइपास आसपासका बस्तीका स्थानीय बिहान र बेलुका सार्वजनिक बसको प्रतीक्षामा लामो समय बस्न बाध्य हुने गरेको बताउँछन्।
आएका बसहरू भरिभराउ हुने, कतिपय बसले यात्रु नरोकी अघि बढ्ने र बाध्य भएर महँगो भाडा तिरेर अन्य सवारी प्रयोग गर्नुपर्ने अवस्था वर्षौंदेखि दोहोरिँदै आएको उनीहरूको गुनासो छ।
स्थानीयका अनुसार देशमा पञ्चायतदेखि बहुदलीय व्यवस्था, गणतन्त्र, संघीय शासन र स्थानीय सरकारसम्मको यात्रा पूरा भयो। नेतृत्व फेरिए, सरकार फेरिए, चुनावहरू भए। तर सार्वजनिक यातायातको समस्या भने उस्तै छ।
हालको राजनीतिक परिवर्तनपछि बनेको सरकारप्रति पनि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। “जुन सरकार आए पनि हाम्रो समस्या उस्तै छ। कानै चिरेको जस्तो भएको छ, हाम्रो आवाज कसैले सुन्दैन,” भन्ने गुनासो स्थानीयवासीले गरेका छन्। उनीहरूका अनुसार सार्वजनिक बस व्यवस्थापनजस्तो आधारभूत विषयमा समेत प्रभावकारी पहल नहुनु दुःखद छ।
राजधानीसँग जोडिएको नगरपालिका भएर पनि स्थानीयले भरपर्दो सार्वजनिक यातायात नपाउनु विकास योजनामाथि नै प्रश्न उठ्ने विषय भएको नागरिकहरूको भनाइ छ।
उनीहरू सार्वजनिक बसको संख्या वृद्धि, पीक आवरमा थप सेवा, नियमित रुट व्यवस्थापन र स्थानीय यात्रुको आवश्यकतालाई प्राथमिकता दिन सम्बन्धित निकायसँग माग गरिरहेका छन्।
देशको मुख्य राजमार्ग छेउमा बसोबास गर्ने नागरिकले यदि आज पनि दैनिक रूपमा सार्वजनिक बसका लागि घण्टौं कुर्नुपर्ने अवस्था भोग्नुपरेको छ भने, विकासका ठूला दाबीभन्दा नागरिकले दैनिक जीवनमा पाउने सेवाको गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता अझ टड्कारो देखिन्छ।


