काठमाडौं । तारकेश्वर नगरपालिका–६ स्थित शिवमन्दिर क्षेत्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सवारी साधन तथा चालकको कडाइका साथ चेकिङ थालेका छन्।
पछिल्लो समय तारकेश्वर क्षेत्रमा सवारी दुर्घटनाका घटना बढ्दै गएपछि दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले निगरानीलाई तीव्र बनाएको हो।
संयुक्त चेकिङका क्रममा प्रहरीले लापसेसहित एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ। चेकिङका क्रममा शंकास्पद गतिविधि तथा सडक सुरक्षामा जोखिम निम्त्याउने अवस्थामाथि प्रहरीले विशेष निगरानी राखेको थियो।
धर्मस्थली प्रहरी प्रभागका प्रमुख यमबहादुर थापाका अनुसार पछिल्लो समय क्षेत्रमा दुर्घटनाका घटना बढ्दै गएकाले दुर्घटना न्यूनीकरण, सवारी अनुशासन कायम तथा सम्भावित जोखिम नियन्त्रणका लागि नियमित चेकिङलाई थप प्रभावकारी बनाइएको हो।
प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने, लागू पदार्थ सेवन वा बोकेर हिँड्ने, ट्राफिक नियम उल्लंघन गर्ने तथा सडक सुरक्षामा प्रत्यक्ष जोखिम निम्त्याउने गतिविधिविरुद्ध कडाइ गर्ने जनाएको छ।
तारकेश्वरका विभिन्न सडक तथा बढी जोखिमयुक्त क्षेत्रमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त चेकिङ तथा निगरानीलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रहरीको भनाइ छ।
प्रहरीको यो अभियानले दुर्घटना न्यूनीकरणसँगै सडकमा अनुशासन कायम गर्न र जोखिमपूर्ण रूपमा सवारी सञ्चालन गर्ने चालकलाई निरुत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







