Comments Add Comment

मुस्ताङमा बाढी–पहिरोले ठूलो क्षति, सांसद योगेश गौचनद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । मुस्ताङमा पछिल्लो समय आएको बाढी, पहिरो तथा नदी कटानबाट भएको जनधनको क्षतिप्रति प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौचनले अविरल वर्षापछि आएको प्राकृतिक प्रकोपका कारण मुस्ताङको जनजीवन, कृषि तथा पूर्वाधारमा ठूलो असर परेको जानकारी गराए।

उनका अनुसार लोमान्थाङ गाउँपालिका, घरपझोङ, थासाङ तथा १२ गाउँ मुक्ति क्षेत्रका विभिन्न वडामा बाढी र पहिरोले क्षति पुर्‍याएको छ। लोमान्थाङ–१, २ र ६ मा सिँचाइ प्रणाली तथा कृषि पूर्वाधारमा पूर्ण क्षति पुगेको उनले बताए। घरपझोङ र थासाङका विभिन्न बस्तीसमेत जोखिममा रहेको उनको भनाइ छ।

त्यस्तै, १२ गाउँ मुक्ति क्षेत्रको लुक्रा गाउँमा स्थानीय कृषकका घर तथा कृषि प्रणालीमा व्यापक क्षति भएको सांसद गौचनले जानकारी दिए।

बाढी तथा पहिरोका कारण दानास्थित विद्युत् सबस्टेशनमा क्षति पुग्नुका साथै ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि करिब ७२ घण्टादेखि मुस्ताङ अन्धकारमय बनेको उनले बताए। विद्युत् अवरुद्ध हुँदा सञ्चार तथा इन्टरनेट सेवा प्रभावित भएकाले क्षतिको वास्तविक विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको उनले उल्लेख गरे।

सांसद गौचनका अनुसार उत्तर–दक्षिण लोकमार्गअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुगेको छ। चीनसँगको सीमा जोड्ने रणनीतिक सडक भएकाले यसको क्षतिले यातायात, विद्युत्, सञ्चार तथा व्यापारमा समेत गम्भीर असर पार्न सक्ने उनले बताए।

गौचनले मुस्ताङमा देखिएको विपद्लाई ‘क्लाइमेट सेक्युरिटी’ र ‘नेसनल सेक्युरिटी’ को दृष्टिकोणबाट समेत हेर्न सरकारलाई आग्रह गरेका छन्।

थप अपडेटका लागि हेर्दै रहनुहोस् News24Galaxy! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै