काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान ७ बजे चितनवको मुग्लिन पुग्न लाग्दा त्रिशुली नदीमा खसेर दुर्घटना भयो।
बा २ ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेको थियो।
ट्याक्सीमा गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनमाया रोकाय, २८ वर्षीया अन्जना रोकाय,९ वर्षीय आगमन नगरकोटी र १८ वर्षीय दिवस रोकाय सवार थिए। दिवसबाहेक सबैलाई प्रहरीले मृत अवस्थामा नदीबाट निकालेको छ।
उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिन्टारबाट गोताखोरको टोली परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी श्रीराम भण्डारीका अनुसार मृतकहरू एउटै परिवारका हुन्।
गोरखा नगरपालिका-७ का ३९ वर्षीय शंकर रोकायाको शुक्रबार उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। उनी त्रिशुलीमा बेपत्ता भएका १८ वर्षीय दिवसका बाबु हुन्। गोरखा नगरपालिका-७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार शंकरको निधनपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरी उनका आफन्त घर फर्कँदै थिए।
छोराको निधन भएपछि काठमाडौं पुगेकी थिइन्। हरिमाया र अन्जना उनकी छोरी हुन्। वडाध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सी चालक जुनमायाका ज्वाँई हुन् भने ९ वर्षीय बालक पनि छोरीपट्टिका नाति हुन्।
शुक्रबार शंकरको दाहसंस्कारका लागि परिवारका अन्य सदस्य र आफन्तहरू पनि काठमाडौं पुगेका थिए। ‘एउटा माइक्रो बस र तीन वटा ट्याक्सी रिजर्भ गरेर उनीहरू गाउँ फर्कँदै रहेछन्। तीनवटामध्येको एटा ट्याक्सी त्रिशुलीमा खसेछ,’ वडाध्यक्ष श्रेष्ठले भने।