काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीपहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको सेवा शीघ्र पुनःसञ्चालन गर्न निर्देशन दिएका छन्।
असोज ८ देखि ११ गतेसम्म आएको विपद्का कारण नेपाल टेलिकमका १ हजार १३२ वटा टावर प्रभावित भएका थिए। तीमध्ये १ हजार २ वटा टावर सञ्चालनमा आइसकेका छन् भने १३० वटा टावर अझै बन्द अवस्थामा रहेका छन्।
मन्त्रालयमा नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा, उद्धारकर्मी तथा सरकारी निकायलाई कठिनाइ हुने भएकाले सेवा पुनःस्थापनालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।
विद्युत् आपूर्ति तत्काल सम्भव नभएका स्थानमा वैकल्पिक उपाय अपनाएर भए पनि सेवा सञ्चालन गर्न उनले आग्रह गरे।
नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेमप्रसाद सिलवालका अनुसार विद्युत् तथा सडक संरचनामा क्षति पुगेका कारण केही प्रभावित साइटमा प्राविधिक टोली र उपकरण पुर्याउन कठिनाइ भइरहेको छ। सडकमार्फत पुग्न नसकिने स्थानमा जेनेरेटर, आवश्यक उपकरण र प्राविधिक जनशक्ति हेलिकप्टरमार्फत लैजाने तयारी भइरहेको उनले जानकारी दिए।
हाल सञ्चालनमा आउन बाँकी टावरमध्ये म्याग्दीमा २४, रोल्पा र प्युठानमा १९/१९, मनाङमा १५, बागलुङमा १३, पाल्पामा ११ र गुल्मीमा ९ वटा रहेका छन्। अन्य प्रभावित जिल्लामा समेत प्राविधिक टोली परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको नेपाल टेलिकमले जनाएको छ।




