२४ जेठ , काठमाडौ । राउटे समुदायका दुई युवतीमाथि यौन दुर्व्यवहार भएको घटना सार्वजनिक भएपछि उनीहरु बसोबास गर्दै आएको बस्तीमा प्रवेश निषेध गरिएको छ ।
सोमबार मात्रै सुर्खेतको गुर्भाकोट नगरपालिका–९ को भुर्के र सिमघाटको बीचमा बसाइँ सरेको उक्त समुदायका सुरक्षाका लागि २२ जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
प्रजिअ रिजालका अनुसार उक्त घटनाबारे विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण भएपछि राउटे समुदायका कसैलाई पनि समाचारबारे थाहा नदिनका लागि बस्तीमा प्रवेश निषेधसँगै सुरक्षा व्यवस्था कडा पारिएको हो । ‘बाहिरका मान्छेको बढी आवतजावत भएपछि थप समस्या हुने डर छ,’ उनले भने, ‘तर ती किशोरीहरुलाई आफ्नै व्यक्तिहरुबाट असुरक्षा छ, यदि त्यसबारे थाहा भएमा उनीहरुलाई मृत्युदण्ड दिनेसम्मको राउटेको आफ्नै कानुन छ भन्ने हामीले सुनेका छौं त्यसैले पनि अलि समस्या भएको छ ।’
गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बाहिरका व्यक्तिहरु बस्तीमा गएर अनावश्यक भिडियो बनाउने, फोटो खिच्ने गरेकाले प्रवेश निषेध गरिएको हो । अनुमतिमा मात्रै प्रवेश गर्न दिने गरी सुरक्षा व्यवस्था कडा पारिएको उनले जानकारी दिए । आइतबार मात्रै राउटे समुदायका मुखियाले सुरक्षाको माग गरेका थिए ।
केही दिनअघि मात्रै दैलेखको गुराँस गाउँपालिकाबाट लेकवेशी नगरापालिका हुँदै बसाइँ सरेर उनीहरु गुर्भाकोट नगरपालिका–११ को आँपसोतीमा बसेका थिए । कर्णाली प्रदेश सरकारले राउटे समुदायमा कुनै संकट पर्न नदिन, पीडित किशोरीलाई काउन्सिलिङ गरी स्वास्थ्य उपचार गर्न मनाउनलगायत अन्य काममा सहजिकरण गर्नका लागि ४ सदस्यीय कार्यदल गठन गरेको छ । सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीका अनुसार एकरदुई दिनमै किशोरीको स्वास्थ्य परीक्षण हुनेछ ।
यसैबीच, राउटे किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै तीन युवकविरुद्ध आवाज संस्था सुर्खेतले किटानी जाहेरी दिएको छ । पीडितको पक्षबाट जाहेरी दिने कोही नभएपछि किटानी जाहेरी दिएको आवाज संस्थाको कार्यकारी निर्देशक पवित्रा शाहीले जानकारी दिइन् । ‘घटनाको अनुसन्धानका क्रममा पीडित पक्ष चाहिन्छ,’ उनले भनिन्, ‘पीडित पक्षबाट हामीले उजूरी दिएका छौं, अहिलेलाई ५ दिनको म्याद छ, अनुसन्धान गर्दै जाँदा म्याद थपिन्छ ।’