२७ जेठ, काठमाडौ । कोरियन भाषा परीक्षा पास भए पनि डेढ वर्षदेखि कोरिया जान नपाएका श्रमिकहरुले सामाजिक सञ्चाल ट्वीटरमा चलाएको ‘जस्टिस फर इपीएस पासर’ अभियान नेपालको ट्वीटर ट्रेण्डिङ एकमा आएको छ ।
श्रमिकहरुले ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली र उनका राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गरेका छन् ।
उनीहरुले सरकारले उचित पहल नगर्दा अन्य देशबाट कोरियाले कामदार लिइसक्दा पनि नेपालबाट नलगेको भन्दै आक्रोश पोखेका छन् । हालसम्म २८ हजार पाँच सय ट्वीट भइसकेका छन् ।
२०७६ फागुनको पहिलो सातादेखि ईपीएस प्रणालीमार्फत कोही पनि श्रमिक कोरिया जान पाएका छैनन् । त्यसमाथि कोभिड १९ को महामारीले झन अन्योलता थपेको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले भाषा परीक्षा पास गरेर श्रम सम्झौता आइसकेका करिब सात हजार र कोरियाबाट प्रतिबद्ध कामदारका रुपमा फर्किएका तीन हजार श्रमिक नेपालमै रोकिएका छन् ।