३१ जेठ, काठमाडौ । नेदरल्यान्ड्सले १६औँ युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
आइतबार राति युक्रेनसँग भएको संघर्षपूर्ण खेलमा नेदरल्यान्डले ३-२ गोलको जित निकाल्यो ।
आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो । ५२ औँ मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औँ मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए ।
७५ औँ मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनको खेल २-१ को स्थितिमा ल्याए । ७९औँ मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर, खेलको ८५ औँ मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२ को जित दिलाए ।
जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले ३ अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ ।