१३ भाद्र , काठमाडौ । अवैध हुण्डीको रकम सहित प्रहरीले पर्साको वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका–२ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् ।
हुण्डीको रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले न्युज२४ग्यालेक्सीलाई बताए ।
प्रहरीले उनिहरुको साथबाट भारतको विहार स्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ ।
नम्बर प्लेट नभएको मोटरसाईकलमा आएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । शनिवार साँझ पक्राउ गरिएका गिरी र पटेलमाथि वित्तीय कारोबार ऐन–२०७५ बिरुद्धको कसुरमा अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।







