
४ असोज , काठमाडौ । इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।


विभागिय मुल्य-मान्यता,आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी एकै परिवारका ६ (छ) जनाको विभत्स ढंगले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरुलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर RIT शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।






