
१२ असोज , काठमाडौ । यही असोज ६ गते काठमाडौँको बुढानीलकण्ठ नगरपालिका, कपनस्थित मिलन चोकमा ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विश्वकर्मा आइतबार ललितपुरस्थित महाङ्काल गाउँपालिकामा वागमती नदी किनारामा मृत भेटिए ।

उज्ज्वलको परिवारले शव पहिचान गरेपछि प्रहरीले पोस्टमार्टमका लागि ललितपुरस्थित पाटन अस्पतालमा पठायो । अन्तिम दाहसंस्कार हुन सकेको छैन ।

उज्ज्वल खसेको ढल निर्माणको जिम्मा बागमती प्रदेश सरकार अन्तर्गतको सिँचाइ डिभिजन कार्यालयले गत वर्ष ‘थापा निर्माण’ कम्पनीलाई दिएको थियो । निर्माणको जिम्मा पाएको कम्पनीले गत जेठमै काम सम्पन्न गरेर भुक्तानी लिइसकेको छ ।
सामान्यतया आफ्नो वडाभित्र भएका विकास र विनाश दुवै कुराको जानकारी सम्बन्धित वडा अध्यक्षले राख्नुपर्ने हो, तर सम्बद्ध वडा नम्बर १२ का अध्यक्ष बेखबर छन् ।

वडा अध्यक्ष शम्भुप्र्रसाद भट्टराईलाई उक्त ढल निर्माणको काम बागमती प्रदेश सरकारको सिँचाइ विभागले गरेको हो भन्नेमात्र थाहा छ ।
कुन कम्पनीले वा ठेकेदारले निर्माणको जिम्मा पायो, कसरी काम भयो, कुन इन्जिनियरको डिजाइनमा काम भयो केही थाहा छैन । उनका अनुसार वडाले ढल निर्माणमा समन्वय गर्नेबाहेक अरू कुनै जिम्मेवारी पाएको छैन । उज्ज्वलको मृत्युको घटनाबारे उनले भने, ‘नघट्नु पर्ने घटना घटिसकेको छ । त्यसमा वडाले सक्ने सहयोग पीडत पक्षलाई गर्छ ।’

उक्त ढल बूढानीलकण्ठको वडा नम्बर १२ र काठमाडौँ महानरपालिकाको वडा नम्बर ६ को सीमानामा बनेको छ । काठमाडौँतर्फका वडा अध्यक्ष दीपेन्द्र लामाले बालक ढलमा खसेको घटना पाँच दिनपछि मात्र थाहा पाए । बालकको परिवारबाट आफूलाई कुनै जानकारी नआएको उनको भनाइ छ ।
परिवारजन र अन्य कुनै पनि पक्षबाट घटनाबारे आफूलाई जानकारी नआएकाले पीडित परिवारलाई क्षतिपूर्ति दिने कुरा अघि नबढेको उनले बताए । उनले भने, ‘सम्बन्धित पक्षबाट मलाई खबर आएको छैन । म आफैँ जान्ने पनि हुनु भएन, खबर आयो भने वडाले सक्ने सहयोग गर्न म तयार छु ।’
उज्ज्वल ढल निर्माण हुन बाँकी रहेको ठाउँमा खसेका थिए ।








