
१४ मंसिर , काठमाडौ । कुवेतमा एक नेपाली महिलाको शव करिब डेढ महिनादेखि अलपत्र परेको छ । झापा पृथ्वी नगर-९ घर भएकी सबिना किस्कुको शव आर्थिक अभावमा अस्पतालकै शव घरमा अलपत्र परेको हो ।

केही वर्षअघि गैरकानुनी बाटो हुँदै कुवेत प्रवेश गरी गैर कानुनी रूपमै काम गरिरहेकी किस्कुको गत अक्टोबर १९ तारिखमा मृत्यु भएको थियो । अकस्मात बिमारी भएर अस्पताल भर्ना गरिएकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

आर्थिक अभावले अलपत्र शव नेपाल पठाउन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ र गैरआवसीय नेपाली संघ ९एनआरएनए० कुवेतको सहकार्यमा सुन बहादुर तामाङको संयोजकत्वमा आर्थिक संकलन अभियान सुरु गरिएको नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले जनाएको छ । कुवेतबाट शव नेपाल पठाउन करिब एक लाख पचास हजार ९३८५ कुवेती दिनार०आवश्यक पर्ने बताइन्छ ।
यसअघि पनि एनआरएनएलगायतका विभिन्न सङ्घसंस्थाहरूले मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाएको थियो । नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेकाहरुलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कुनै सहयोग नगरेको एनआरएनएले जनाएको छ ।
नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरूले कुवेत,भारत, बङ्गलादेश, दुबई तथा श्रीलङ्का लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन्।
यसरी गैर कानुनी बाटो हुँदै खाडीका विभिन्न देशहरूमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरूले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।






