
२९ मंसिर , काठमाडौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी छन् ।
जनकपुर पुगेकी मन्त्री झाँक्रीले बुधबार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन् । ओली संसद्को औचित्यमाथि प्रश्न उठाएर संसद् विघटन गराउनेतर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अहंकारी व्यक्तिहरुको सिकार संसद् बन्नु हुन्छ कि बन्नु हुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताइन् ।
ओलीले आफूले गरेको संसद् विघटनको औचित्य पुष्टि गर्नका लागि संसद् चल्न नदिएको उनको भनाइ थियो । उनले सरकारले संसद्मा विजनेश दिने र आवश्यक कानुन निर्माण गर्ने सम्बन्धमा अग्रसरता लिने पनि उनले उल्लेख गरिन् ।‘केपी ओलीलाई संसद्को औचित्यमाथि प्रश्न उठाएर संसद् विघटन गर्दै लोकतान्त्रिक व्यवस्था नै विघटन गर्नेतर्फ नै उद्यत हुनुहुन्छ ।
त्यसकारण आज हामीले ७० वर्ष लडेको, ७ दशकको इतिहास ओलीजस्ता अहंकारी व्यक्तिहरुको सिकार संसद् बन्नु हुन्छ कि हुँदैन भन्ने बहस गराउनुपर्छ समाजमा । त्यसकारण उहााहरुले त यसको औचित्य, आफूले विघटन गरेको असंवैधानिक मात्रै होइन, अपराधिक क्रियाकलाप हो संसद् विघटन गर्ने । त्यसलाई पुष्टि गर्नको लागि उहाँले संसद् चल्न दिनुहुन्न,’ उनले भनिन्, ‘तर सरकारले चाह्यो भने संसद्मा आफ्नो बिजनेश गर्छ । हामीलाई आवश्यक कानुनहरु निर्माण गर्नुपर्ने, आवश्यक नीति लिनुपर्ने ठाउँमा सरकारले आफ्नो स्टेप लिन्छ ।’
मन्त्री झाँक्रीले एमाले पार्टी दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको आरोप लगाइन् । एमालेको दशौं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिणपन्थी विर्सजनवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाइ थियो । मन्त्री झाक्रीले श्रमजीवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा (एकीकृत समाजवादी) भएको दाबी पनि गरिन् ।








