७ चैत , काठमाडौ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताएकी छन् । उनले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताएकी हुन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘नयाँ नगरको भौतिक विकास योजना स्वीकृतीका लागि प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा गृहकार्य भइरहेको छ ।’ हिजो साँझ भक्तपुरमा बसेको भौतिक विकास समितिको १६ औं बैठकलाई सम्बोधन गदै उनले नयाँ नगरलाई आधुनिक र सुविधा सम्पन्न रुपमा विकास गरिने बताइन् ।
मन्त्री झाँक्रीले भनिन्, ‘हामीले नयाँ नगर बनाउने भनेको छौं, यसलाई अझ जनतासँग जोडेर कसरी लैजान सकिन्छ भन्ने बारे पनि हामी सचेत छौं । यसका लागि भौतिक योजना स्वीकृत गरेर कार्यान्वयनमा लैजान्छौं ।’ मन्त्री झाँक्रीले सरकारले रोकेर राखेको एक लाख रोपनी जग्गा समेत छिट्टै खुलाउने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् ।
उनले नयाँ नगरको भौतिक योजना स्वीकृतीका लागि छिट्टै क्याविनेटमा लगिने बताइन् । ‘एउटा प्राविधिक टोली बनाएर यसलाई तत्काल अघि बढाउन गृहकार्य सुरु गरेका छौं’, उनले भनिन् । उक्त बैठकमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले नयाँ नगर बनाउँदा स्थानीय तहलाई नै जिम्मेवार र जवाफदेही बनाउनुपर्ने बताए । उनले भौतिक योजना तत्काल स्वीकृत गर्नुपर्नेमा समेत जोड दिए ।
शहरी विकास सचिव डा। रमेशप्रसाद सिंहले नयाँ नगरमा पूर्वाधारसहितको काम गरिने बताए । उनले भने, ‘हामीले नयाँ नगरमा जग्गा एकीकरण गर्दादेखि नै पूर्वाधारको काम गर्नुपर्छ ।’ सुविधा सम्पन्न र आधुनिक ढंगले नयाँ नगर निर्माणको काम अघि बढाउन लागिएको बताउँदै सचिव सिंहले अव्यवस्थित शहरीकरणलाई रोक्न नयाँ नगर निर्माणको खाँचो रहेकोमा जोड दिए ।


