Comments Add Comment

Advertisment

SKIP THIS

नर्सिङको कोटा ११ सय : आवेदन १० हजार

१ पुष , काठमाडौ । प्रमाणपत्र तहमा (पीसीएल) नर्सिङ अध्ययन गर्न करिब १० हजार विद्यार्थीले आवेदन दिएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ३० वटा शिक्षण संस्थाका लागि १ हजार १ सय २० कोटामा भर्ना आह्वान गरेकामा त्यति धेरै विद्यार्थीले आवेदन दिएका हुन् ।

उक्त कोटामा सशुल्क अध्ययन गर्न करिब साढे ७ हजार र छात्रवृत्तिमा अध्ययन गर्न २ हजारभन्दा बढी विद्यार्थीले आवेदन दिएको सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । मंगलबारसम्म आवेदन दिने म्याद थियो । आवेदनको अन्तिम रुजु गर्ने काम बाँकी नै रहे पनि करिब १० हजार विद्यार्थीले आवेदन दिएको परीक्षा नियन्त्रक कृष्ण केसीले जनाए ।

गत शैक्षिक सत्रसम्म १ सय ९ वटा शिक्षण संस्थामा ४ हजार ६ कोटामा विद्यार्थी अध्ययन गर्थे । चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार यस पटक एक सय शय्याको आफ्नै अस्पताल भएका र स्नातक तहमा नर्सिङ अध्यापन गराउनेबाहेक ३० वटा शिक्षण संस्थामा मात्रै भर्ना आह्वान गरिएको हो । जसले गर्दा आवेदन दिने विद्यार्थीको संख्या र पढ्न पाउने कोटा पनि घटेको छ ।

यसअघि २० हजार हाराहारीमा विद्यार्थीले आवेदन दिने दिन्थे । सीटीईभीटीले तीन महिना ढिला गरी आवेदन खुला गरेका कारण पनि आकांक्षीको संख्या घटेको अनुमान गरिएको छ ।

एचए, फार्मेसी, ल्याबलगायत विषयको एक महिनाअघि नै पठनपाठन सुरु भइसकेको छ । एक सय शय्याको अस्पताल नभएका र स्नातक तहमा पनि नर्सिङ पढाउँदै आएका शिक्षण संस्थामा भर्ना लिने कि नलिने विवादका कारण सीटीईभीटीले ढिला गरी आवेदन खुलाएको थियो । सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, सदस्यसचिव जीवनारायण काफ्लेलगायत पदाधिकारी ऐनले तोकेको मापदण्ड नपुगेका शिक्षण संस्थामा पनि पठनपाठन गराउन पाउनुपर्ने अडानमा छन् । ढिला गरी भर्ना खोलिएका कारण आकांक्षीको संख्या घटेको सदस्यसचिव काफ्लेले जनाए । ‘विद्यार्थीले अरू नै विषय रोजे होला, कतिपय विदेश पढ्न गए होला भन्ने अनुमान गरेका छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै