Comments Add Comment

Advertisment

SKIP THIS

उच्च र जिल्ला अदालतमा पनि गोलाबाट पेसी तोकिने

१ पुष , काठमाडौ । सर्वोच्च अदालतमा झैं उच्च र जिल्ला अदालतमा पनि मुद्दाको पेसी गोला प्रणालीबाट तोकिने भएको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले माघ २ बाट उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूको बुधबारको बैठकले माघ २ बाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको हो । नेपालमा १८ वटा उच्च अदालत (इजलाससहित) छन् भने ७७ वटा जिल्ला अदालत छन् ।

फुलकोर्टले उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था गर्नका लागि आवश्यक तयारी गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश पनि दिइसकेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले गोला प्रणालीका लागि कानुनी तयारी गर्न फुलकोर्टले आदेश दिएको जानकारी दिए । ‘गोला प्रणाली लागू गर्दा आवश्यक पर्ने नियमावलीको संशोधन प्रस्ताव र गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकाको मस्यौदा तयार पारेर फुलकोर्टमा पेस गर्न सर्वोच्च अदालत प्रशासनलाई आदेश

भएको छ,’ उनले भने । सर्वोच्च अदालत प्रशासनले उच्च अदालत नियमावली, २०७५ र जिल्ला अदालत नियमावली, २०७५ का साथै गोला प्रणाली अपनाउन दुवै तहका अदालतलाई आवश्यक पर्ने निर्देशिकाको मस्यौदा फुलकोर्टमा पेस गर्नेछ । फुलकोर्टले उक्त निर्देशिका पास गरेपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नेछ । त्यसपछि फुलकोर्टको निर्णयअनुसार माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोकिनेछ ।

हाल उच्च अदालतमा मुख्य न्यायाधीशले पेसी तोकिरहेका छन् । जिल्ला अदालतमा भने निश्चित समयभित्र ९एक हप्ता, १५ दिन० परेका मुद्दा जिल्ला अदालतमा रहेका न्यायाधीशबीच बाँड्ने गरिन्छ । मुद्दा जुन न्यायाधीशलाई सुरुमा पर्छ, सोही न्यायाधीशले त्यसको फैसला गर्दै आइएको छ । जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्दा निश्चित समयभित्र परेका मुद्दालाई न्यायाधीशको संख्याअनुसार विभाजन गरेर गोला प्रणालीद्वारा पेसी तोकिनेछ । त्यसपछि एउटा मुद्दा सुरुमा हेरेको न्यायाधीशकोमा अर्को पटक नपर्न पनि सक्छ । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि नै गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment