
२० पुष, काठमाडौ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को १०औँ महाधिवेशन सम्पन्न भएको एक महिना बित्यो । तर, नेकपा (एमाले) महाधिवेशनको धङ्धङीबाट अझै मुक्त हुन सकेको छैन ।
बरु, दिनैपिच्छे देशभरबाट विद्रोह गर्ने नेता–कार्यकर्ताको संख्या बढ्दा एमालेभित्र तरंग पैदा भएको छ । यही क्रम जारी रह्यो भने आगामी वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनसम्म एमालेमा ठूलै पहिरो जाने निश्चित छ ।
एमालेभित्रको अवस्था हेर्दा न विधान महाधिवेशनले तय गरेको विधि काम लाग्यो, न चितवन महाधिवेशनले तय गरेको नेतृत्व नै सर्वस्वीकार्य रह्यो । सिंगो पार्टी यतिबेला केपी शर्मा ओलीका निम्ति ‘भ्यागुताको धार्नी’ बनेको छ । ‘ओलीवेशन’का रुपमा चर्चामा आएको उक्त महाधिवेशनअघि धैर्यतापूर्वक भूमिकाको प्रतीक्षामा रहेका कतिपय नेता नेतृत्वबाट कत्लेआम भएपछि पार्टी छोड्न बाध्य भएका छन् । कतिपय ओली कोटरीकै नेता–कार्यकर्ता असन्तुष्ट हुँदा सर्वसम्मत अध्यक्ष बनेका ओली कमजोर बनेका छन् ।
महाधिवेशनबाट ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाइदिए पनि ईश्वरलाई जिम्मेवारविहीन बनाउने क्रम जारी छ । उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारीमा रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलको जिम्मेवारी महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकले खोसिदिएको छ ।
पोखरेलको ठाउँमा महासचिव शंकर पोखरेलकी श्रीमती सुजिता शाक्य इञ्चार्ज र कृष्णगोपाल श्रेष्ठकी पत्नी बिना श्रेष्ठ सह–इञ्चार्ज तोकिएका छन् । पोखरेलको जिम्मेवारी खोसिएपछि शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम भयो । उक्त कार्यक्रमबाट ईश्वरलाई इञ्चार्जका रुपमा बिदा गर्ने र सुजिता शाक्यलाई स्वागत गर्ने कार्यक्रम थियो । तर, उक्त कार्यक्रममा ईश्वर पुगेनन् । ईश्वरले मात्रै हैन, प्रेमप्रसाद पराजुली, समीर नेपालदेखि चन्द्र रिजालसम्मले उक्त कार्यक्रम वहिष्कार गरे । कारण हो, ‘न्यायोचित जिम्मेवारी’ नदिइनु ।
उपत्यका विशेष प्रदेशले पेशागत फाँटसहित मजदुर, विद्यार्थी र उद्योग व्यवसायी जिल्ला कमिटीहरु हेर्ने हो । ०७७ पुस ५ अघि पेशागत जिल्ला कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुली, उपाध्यक्ष भोला पोखरेल, सचिव समीर नेपाल र उपसचिव प्रेमकुमार पराजुली थिए । यसमध्ये भोला पोखरेल माधव नेपालतिर लागे । प्रेमप्रसाद र समीर ओलीको १५ सय १ सदस्यीय केन्द्रीय कमिटी सदस्य भए । बाँकी रहेका उपसचिव प्रेम पराजुली पेशागत जिल्ला कमिटीको अध्यक्ष बनाइए ।








