Comments Add Comment

Advertisment

SKIP THIS

चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका

२२ पुष , काठमाडौ । शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् ।

वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।

दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय टाढा हुँदा बालबालिकालाई पढाउनका लागि गाउँ नजिकैको नदीको बगरमा विसं २०४८ देखि बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन् । “बालविकास केन्द्र सञ्चालन हुँदै आएको टहराको भुइँमा बालुवा छ, चिसो बालुवामै बसेर बालबालिका पढ्दै आएका छन्”, स्थानीयवासी जनक कार्कीले भन्नुभयो, “अभिभावकको आर्थिक अवस्था निकै दयनीय छ, गाउँका अधिकांश परिवारले मजदुरी गरी जीविका चलाउँदै आएका छन्, मजदुरी नगरे चुलोमा आगो बल्दैन, घर चलाउनै मुस्किल भएका बेला विद्यालयलाई सहयोग गरी फर्निचरको व्यवस्था गर्न सकिएको छैन ।”

गर्मीका बेला बालुवा तात्ने भएकाले बालबालिका टहरामा बस्न नसक्ने बालविकास शिक्षिका सुमिता रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै हावा चलेपछि बालुवा उडन थाल्छ, बालबालिका बिरामी पर्ने गरेका छन्, हिउँदका बेला भुइँको बालुवा निकै चिसो हुँदा बालबालिकालाई बस्न निकै अप्ठेरो हुने गरेको छ ।”

घाम लागेका बेला चौरमा राखेर पढाउने गरे पनि अरु बेला कक्षा सञ्चालन गर्न निकै अप्ठेरो रहेको उहाँले बताउनुभयो । टहराको माथि राखिएका वर्षौं पुराना जस्तापातामा खिया लागेर ठाउँ ठाउँमा प्वाल पर्दा चुहिने गरेकाले थोरै बर्सातमा पनि कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

“वडा कार्यालयमार्फत नगरपालिकालाई बालबालिका बस्नका लागि कारर्पेट, गुन्द्रीको व्यवस्था गरिदिनका लागि माग राख्दै आएका छौँ”, उहाँले भन्नुभयो, “सुनवाइनै हुन सकेको छैन, अश्वास दिन्छन्, त्यसपछि कोही फर्केर आउदैनन् ।” बालविकास केन्द्रमा खेल सामग्रीको समेत अभाव रहेको उहाँको भनाइ छ ।

बालविकास केन्द्रमा कृष्णपुर नगरपालिका–३ र शुक्लाफाँटा नगरपालिका–१२ का पाँच वर्षमुनिका ३५ बढी बालबालिका पढ्दै आएका छन् । यस क्षेत्रमा पहिला आधारभूत तहको विद्यालय नै सञ्चालमा रहेको थियो । बाढीजन्य प्रकोपका कारण विद्यालय विस्थापनमा परेपछि स्थानीय बासिन्दाले बालबाविकास शिक्षकको व्यवस्था गरी बालविकास केन्द्र सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै