
३० पुष, काठमाडौ । महानगरीय अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर ३ फागुन २०७७ मा कमाण्ड सम्हालेका एसएसपी चन्द्रकुबेर खापुङको ११ महिने कार्यकाल आधा खुला र आधा बन्दमा बित्यो ।

कोभिड–१९ को महामारीका कारण सरकारले गरेको लकडाउनबीच आफ्नो कार्यकाल पूरा गरेका एसएसपी खापुङले त्यस बेला हुनसक्ने सम्भावित अपराध रोकथामका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले महामारीका स्वास्थ्यजन्य सामग्रीको नक्कली उत्पादन र कालोबजारीदेखि अखाद्य वस्तु उत्पादकका महत्वपूर्ण अड्डाहरुमा छापा मारे ।
करिब ३२४ दिन अपराध महाशाखा प्रमुख भएका खापुङको कार्यकालमा भएका यी हुन् ७४ महत्वपूर्ण अपरेशनहरु, जसले बन्दमा पनि प्रहरी सक्रिय रहन्छ भन्ने सन्देश आमजनतामा छाड्न सक्यो ।
जघन्य अपराध
यसैगरी कर्तव्य ज्यानसम्बन्धी कसुरका ४ अपरेशनमा महाशाखा सफल भएको थियो । गत २८ साउनमा ललितपुर महानगरपालिका–९ बालकुमारीमा हरिबहादुर खड्काको हत्या घटनामा महाशाखाले १० कात्तिकमा जय सिंगारलाई पक्राउ गरेको थियो ।

गत १५ असोजमा काठमाडौंको चन्द्रागिरीबाट चमेली माया स्याङतानलाई अपहरण गरी ५ लाख फिरौती माग गर्ने धिरोज श्रेष्ठ, रसिला अवाल समेतलाई पक्राउ गरिएको थियो । भारतबाट पटका, भुईचम्पा लगायत वस्तु ल्याउने र दशैंतिहारमा कारोबार गरिरहेका कामेश्वर प्रसाद यादवलाई पनि काठमाडौंको कागेश्वरीबाट विस्फोटक पदार्थसहित पक्राउ गरिएको थियो ।
यस्तै, ३ असारमा काठमाडौंको दक्षिणकालीमा सन्तोषी सुब्बाको हत्यामा संलग्न भएको आरोपमा सुरेश तिमल्सिनालाई पक्राउ गरिएको थियो ।
कालोबजारी
महाशाखाले खापुङको समयमा कालोबजारीविरुद्ध विभिन्न अपरेशन गरेको थियो । उक्त समयमा रक्त चन्दनको तेल कारोबारमा संलग्न रहेका अभियुक्तहरु नियन्त्रणमा लिइएको थियो । रक्त चन्दन कारोबारमा संलग्न भएका १० जनालाई पक्रिएको थियो । उक्त अवधिमा महाशाखाले रक्त चन्दनको तेल ७७ लिटर बरामद गरेको थियो ।
यस्तै, काठमाडौ कालीमाटी क्षेत्रमा हुण्डी कारोबार गर्ने अमर नारायण दासलाई १६ लाख रुपैयाँसहित पक्राउ गरिएको थियो । त्यस्तै भन्सार छली गरी ल्याएका गाडीहरु र मोटरसाईकहरु पनि विभिन्न स्थानबाट बरामद गरिएको थियो । त्यस्तै नक्कली नोटको कारोबारमा संलग्न रहेका ४ जनालाई पक्राउ गर्न सफल भएको थियो । एक हजारको खोटा मुद्राहरु थान १० सहित उनीहरुलाई पक्राउ गरेको थियो ।



