Comments Add Comment

Advertisment

SKIP THIS

राजधानीका केन्द्रीयस्तरका ६ अस्पतालमा मात्रै २ सयभन्दा बढीमा कोरोना

१ माघ, काठमाडौ । कोभिडबाट ठूलो संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमित हुन थालेका छन् । जनशक्तिको अभाव झेल्दै आएका राजधानीका केन्द्रीयस्तरका ६ अस्पतालमा शनिबारसम्म २ सयभन्दा बढी मा संक्रमण देखिएको छ । ती अस्पतालका सेवा हाल प्रभावित हुन थालेका छन् ।

गत सातादेखि राजधानी र बाहिरका अस्पतालमा पनि स्वास्थ्यकर्मी संक्रमित हुने दरमा अप्रत्याशित वृद्धि देखिएको छ । सबैभन्दा बढी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ३५ डाक्टरसहित १ सय १५ स्वास्थ्यकर्मी संक्रमित छन् । ८ शय्याको मेडिकल आईसीयूका सबै कर्मचारी संक्रमित भएपछि उक्त वार्ड नै बन्द गरिएको छ । ‘संक्रमितहरू आइसोलेसनमा छन्,’ अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक डा। सन्तकुमार दासले भने, ‘संक्रमितको संख्या बढे ननकोभिड र रुटिन नै प्रभावित हुन सक्छ ।’

ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप अत्यधिक बढेको छ । सेवा प्रभावित हुन नदिन बढी स्वास्थ्यकर्मी भएका विभागबाट अभाव भएका विभागमा सार्न थालिएको डा। दासले बताए । मेडिकल आईसीयूका सबै स्टाफलाई एकैपटक कोभिड देखिएपछि १० दिनका लागि होम आइसोलेसनमा राखिएको छ । संक्रमितको अवस्था चिन्ताजनक नभएको उनले बताए । ‘सबै स्वास्थ्यकर्मीले पूर्ण खोप लिएका छन्, उनीहरूमा मध्यम ज्वरो, शरीररघाँटी दुखाइलगायत रुघाखोकी जस्ता लक्षण देखिएको छ,’ उनले भने ।

वीर अस्पतालमा १३ डाक्टरसहित ४४ स्वास्थ्यकर्मी र पाटन अस्पतालमा ८ डाक्टरसहित २४ जना स्वास्थ्यकर्मी होम आइसोलेसनमा छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि ३ डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएपछि शनिबार जनशक्ति व्यवस्थापनबारे आकस्मिक बैठक बसेको छ । ‘कोभिड अस्पताल भएकाले थप जनशक्ति संक्रमित हुने उच्च सम्भावना छ,’ अस्पतालका निर्देशक डा। मनीषा रावलले भनिन्, ‘एकैचोटि धेरै संक्रमित भए अस्पताल कसरी चलाउने भन्नेबारे नै हामी विमर्शमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment