१ माघ, काठमाडौ । कोभिडबाट ठूलो संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमित हुन थालेका छन् । जनशक्तिको अभाव झेल्दै आएका राजधानीका केन्द्रीयस्तरका ६ अस्पतालमा शनिबारसम्म २ सयभन्दा बढी मा संक्रमण देखिएको छ । ती अस्पतालका सेवा हाल प्रभावित हुन थालेका छन् ।

गत सातादेखि राजधानी र बाहिरका अस्पतालमा पनि स्वास्थ्यकर्मी संक्रमित हुने दरमा अप्रत्याशित वृद्धि देखिएको छ । सबैभन्दा बढी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ३५ डाक्टरसहित १ सय १५ स्वास्थ्यकर्मी संक्रमित छन् । ८ शय्याको मेडिकल आईसीयूका सबै कर्मचारी संक्रमित भएपछि उक्त वार्ड नै बन्द गरिएको छ । ‘संक्रमितहरू आइसोलेसनमा छन्,’ अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक डा। सन्तकुमार दासले भने, ‘संक्रमितको संख्या बढे ननकोभिड र रुटिन नै प्रभावित हुन सक्छ ।’

ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि अन्य स्वास्थ्यकर्मीलाई कामको चाप अत्यधिक बढेको छ । सेवा प्रभावित हुन नदिन बढी स्वास्थ्यकर्मी भएका विभागबाट अभाव भएका विभागमा सार्न थालिएको डा। दासले बताए । मेडिकल आईसीयूका सबै स्टाफलाई एकैपटक कोभिड देखिएपछि १० दिनका लागि होम आइसोलेसनमा राखिएको छ । संक्रमितको अवस्था चिन्ताजनक नभएको उनले बताए । ‘सबै स्वास्थ्यकर्मीले पूर्ण खोप लिएका छन्, उनीहरूमा मध्यम ज्वरो, शरीररघाँटी दुखाइलगायत रुघाखोकी जस्ता लक्षण देखिएको छ,’ उनले भने ।

वीर अस्पतालमा १३ डाक्टरसहित ४४ स्वास्थ्यकर्मी र पाटन अस्पतालमा ८ डाक्टरसहित २४ जना स्वास्थ्यकर्मी होम आइसोलेसनमा छन् । बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पनि ३ डाक्टरसहित १४ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका ६ स्वास्थ्यकर्मी संक्रमित भएपछि शनिबार जनशक्ति व्यवस्थापनबारे आकस्मिक बैठक बसेको छ । ‘कोभिड अस्पताल भएकाले थप जनशक्ति संक्रमित हुने उच्च सम्भावना छ,’ अस्पतालका निर्देशक डा। मनीषा रावलले भनिन्, ‘एकैचोटि धेरै संक्रमित भए अस्पताल कसरी चलाउने भन्नेबारे नै हामी विमर्शमा छौं ।’