
५ माघ , काठमाडौ । प्रदेश १ को प्रदेश सभा बैठक आगामी माघ २० गतेभित्र सुचारु गर्न प्रदेश सरकारले बैठक दलहरूसँग छलफल थालेको छ ।
सरकारले सभामुखसँग छलफल गरिसकेको छ भने र प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि प्रदेश सभा बैठक सुचारु गर्ने विषयमा छलफलको तयारी भइरहेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए । ‘प्रदेशसभा बैठक चाँडो सुचारु गर्न सरकारमा सहभागी दलहरू एकमत भएका छन्’मुख्यमन्त्री राईले भने,‘प्रदेश सभा बैठक सुचारु गर्न बारेमा एमालेसँग पनि कुरा गरेर सरकार अगाडी बढ्छ।’ उनले प्रदेश सभाको २० गते बस्ने बैठकमा सरकारले बिजनेसका रूपमा प्रदेशको नामकरणलाई प्रवेश गराउने पनि बताए । प्रदेश सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा बैठक बस्न सकेको थिएन ।
मुख्यमन्त्री राईले प्रदेश १ को नामकरण प्रदेश सभाको माघ २० गतेबाट जारी हिउँदे अधिवेशनमा प्रक्रियाका लागि प्रस्ताव सरकारको तर्फबाट लैजाने पनि बताए । प्रदेश सभाले नामकरण टुङ्गो लगाउने विषय भए पनि प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईको दाबी छ ।
पाँच दलीय गठबन्धनको सरकार निर्माणपछि प्रदेश सभा बस्न सकेको छैन । एकीकृत समाजवादी पार्टीको नेता राजेन्द्रकुमार राईको नेतृत्वमा बनेको प्रदेश सरकारमा काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत)समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धन बनेको छ ।
देशभरका सात प्रदेशमध्ये ६ वटा प्रदेशले आफ्नो नाम र राजधानीको टुङ्गो लगाएका छन् । प्रदेश १ मा भने प्रदेशको नामको विषयमा अझै पनि सहमति जुट्न सकेको छैन । तत्कालीन नेकपाको नेतृत्वको सरकार दुई तिहाइ बहुमतमा थियो । त्यसबेला उक्त दलले नाम सम्बन्धी प्रस्ताव ल्याउनै सकेन ।
राजधानीको प्रस्ताव जसोतसो पारित गरेको भए पनि नाम पहिचानको आधारमा गर्ने कि भूगोलका आधारमा वा अन्य कुनै आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच बेमेल छ ।




