Comments Add Comment

Advertisment

SKIP THIS

मोरङमा ट्रक चालकको कान काटिदिएपछि अवस्था गम्भीर

६ माघ , काठमाडौँ । विराटनगर र मोरङको विराट चोकमा अज्ञात व्यक्तिले कान काटिदिएपछि एक जना ट्रक चालकको अवस्था गम्भीर बनेको छ । दुई जना अपरिचित पुरुषले बुधबार राति ११ः२५ बजेतिर ट्रक चालक मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले कान काटिदिएपछि अत्याधिक रक्तश्राव भएर मुखियाको अवस्था गम्भीर बनेको जानकारी दिए । उनका अनुसार सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा अज्ञात व्यक्तिले प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मुखियाको देव्रे कान काटेर छिनाइदिएका छन् । मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै थिए ।

विराट चोकमा पुगेपछि ट्रक पार्किङ गरेर खाना खानलाई नजिकैको पोखरेल होटलमा गएको प्रहरीले जनाएको छ । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापेर बसिरहेका बेला दुई जना व्यक्ति आएर धारिलो हतियारले मुखियाको कान काटिदिएको मुकारुङको भनाइ छ । कुन हतियारले कान काटिएको हो भन्ने पनि खुल्न बाँकी रहेको उनले बताए ।

‘काटेको ठाउँमा गहिरो चोट लागेका कारण रक्तश्राव अत्याधिक भएको छ,’ उनले भने, ‘धारिलो हतियारले काटेर कान नै छिनाइदिएको पाइयो ।’ मुकारुङले घटनाको कारण पत्ता लगाउनलाई विभिन्न कोणबाट अनुसन्धान थालिएको बताए । कान काटिदिएपछि रक्तश्राव भएर अवस्था गम्भीर बनेका मुखियाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment